निर्वाचनका लागी ३ सय ५१ सदस्य परिचालन समिति गठन

पोखरा, २५ भाद्र/एकीकृत नेकपा (माओवादी) कास्की कार्यालयको विस्तारित बैठक सोमबार पोखरामा सम्पन्न भएको छ । बैठकले केन्द्रीय सदस्य तथा जिल्ला संयोजक झलकपाणि तिवारीको संयोजकत्वमा ३५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । परिचालन समितिमा कास्कीमा कार्यरत केन्द्रीय सदस्यहरु, राज्य समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु र मोर्चा तथा जनवर्गीय संगठनका अध्यक्ष वा प्रमुखहरु रहनेछन् ।

त्यसैगरि बैठकले पूर्वसभासद् राजकाजी तमुको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति, झलकपाणि तिवारीको संयोजकत्वमा ११ सदस्यीय निर्वाचनमा तालमेल र विभिन्न पार्टीबाट पार्टी प्रवेशका लागि बार्ता समिति, बखानसिंह तमुको संयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार समिति र दीपक कोइरालाको नेतृत्वमा उत्पादन, निर्माण तथा युवा परिचालन समिति गठन गरिएको छ ।

बैठकमा संविधान सभा निर्वाचनका लागि जिल्लाबारे सिफारिस गरिएका उम्मेदवारहरुका नामावली प्रस्तुत गरि अनुमोदन पनि गरिएको छ । यसैगरि अब सम्पूर्ण रुपमा निर्वाचन क्षेत्रमा केन्द्रित हुने भन्दै माओवादीले जनताको घरदैलोमा पुग्न २०७० असोज २० गतेसम्मका लागि संगठनात्मक सुदृढीकरण र घरदैलो अभियान संचालन गर्ने निर्णय पनि गरिएको छ ।

‘अबका हाम्रा कार्यक्रमहरु निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन्, निर्वाचन क्षेत्र स्तरीय सबै समिति निर्माण गरि चुनाब केन्द्रित हुनुको विकल्प छैन’ बैठकमा एकीकृत माओेवादीका बरिष्ठ केन्द्रीय सदस्य तथा तमुवान राज्य संयोजक हरि अधिकारीको निर्देशन थियो । साथै बैठकले द्धन्द्धकालमा घटनाहरुलाई निर्वाचन बिथोल्ने हतियारको रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । बैठकका सहभागिहरुले विरोधीहरुले यसरी नै माओवादीमाथि आक्रमण गर्ने हो भने जनयुद्धकालमा १५ हजारको हत्या गर्ने र गराउनेहरुमाथि पनि कार्वाहीको थालनी गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...