श्रीराम आधारभूत विद्यालयमा श्रीरामको प्रतिष्ठा उद्घाटन

पोखरा, २३ चैत /पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ स्थित श्रीराम आधारभूत विद्यालय हाता भित्र रहेको श्रीराम मन्दिरको उद्घाटन विशेष पूजन सहित सम्पन्न भएको छ ।  करिब दुईलाख तीस हजारको लागतमा जीर्णोद्वार गरिएको मन्दिरको २१ गते पूर्वान्ह, २२ गते विशेष पूजन र श्रीराम नवमीका दिन विहान ८.३० बजेदेखि श्रीराम मन्दिरबाट निस्केको बाजागाजा सहितको रथारोहण शोभा यात्रा सिर्जनाचोक , पृथ्वीचोक, नागढुङ्गा, एयरपोर्ट, जनप्रिय क्याम्पस, रत्नचोक हुंदै पुनः श्रीराम मन्दिरमा आएर विशेष पूजन सहित स्थापना गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ का सांसद रबिन्द्र अधिकारीले विद्याको मन्दिरमा रहेको जीर्ण राम मन्दिरको जीर्णोद्वार गरी उत्साहपूर्वक कार्य सम्पन्न गर्न हामी जसरी एकजुट भएर लाग्यौं, त्यसरी नै यस विद्याको मन्दिरलाई पनि गुणस्तरीय शिक्षाको केन्द्र बनाउन तर्फ लाग्न आजको यस पावन अवसरमा शुभकामना दिंदै आफ्नो तर्फबाट पनि सकेको योगदान हुने बताउनु भयो ।

श्रीराम मन्दिर जीर्णोद्वारको कार्यक्रम पोखरा ८ स्थित श्री पशुपतिनाथ मन्दिरको पाँचौं साधारण सभाले पारित गरी संस्थाका कोषाध्यक्ष गोबिन्द बरालको अध्यक्षतामा जीर्णोद्वार उपभोक्ता समिति गठन गरिएको थियो । गोबिन्द बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सदस्यसरिता रेग्मीले गर्नुभएको थियो ।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ बराल, पूर्व अध्यक्ष परशुराम बरालले आफ्ना भनाई राख्नु भएको कार्यक्रमलाई समितिका उपाध्यक्ष रामचन्द्र पौडेलले सञ्चालन गर्नु भएको थियो । सोही अवसरमा मन्दिर जीर्णोद्धारमा विशेष सहयोग गर्नुहुने तारा गिरी, दामोदर सिग्देल, शान्ता सिग्देल, परशुराम बराल, रमेश बराल, विरेन्द्रनारायण विजुकुच्छे र नारायण प्रसाद बराललाई कदर तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष गोबिन्द बरालले यस कार्यक्रमबाट बचेको रकम सार्वजनिक गरिने र श्रीराम मन्दिर संरक्षण समिति गठन गरी सोही समितिले त्यसको व्यवस्थापन गर्ने बताउँंदै सम्पूर्ण दाताहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरु र आमन्त्रित श्रद्धालुभक्तजनहरुलाई धन्यवाद समितिका सल्लाहकार उपेन्द्रराज ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...