मंसिरमा हुने चुनावका लागि थपिएका मतदाताको मात्रै परिचयपत्र छापियो

काठमाडौं,  २४ कात्तिक/निर्वाचन आयोगले पुराना मतदाताका लागि मंसिरमा हुने चुनावका लागि परिचयपत्र नछाप्ने भएको छ । पहिलो चरणमा मंसिर १० गते र दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदाताको मात्र परिचयपत्र छापिने भएको हो ।

गएको स्थानीय तहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचयपत्र लिइसकेका मतदाताका लागि आयोगले फेरि परिचयपत्र वितरण नगर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।स्थानीय तहका चुनावमा भोट खसालेका मतदाताले पुरानै परिचयपत्रका आधारमा भोट खसाल्नु पर्ने ढकालको भनाइ छ ।

मतदातको सहजका लागि आयोगले सरकारी निकायबाट जारि भएको कुनै पनि आधिकारिक परिचयपत्रका आधारमा पनि भोट खसाल्ने सुविधा दिएको छ । आयोगले नयाँ थपिएका र स्थानान्तरण भएका मतदाताको मात्र परिचयपत्र छाप्ने काम अन्तिम चरणमा पुर्‍याएको जनाएको  छ । नयाँ थपिएका करिब १४ लाख र स्थानान्तरण भएका ८ लाख गरि २२ लाख परिचयपत्र छापेर सकिन लागेको र आइतबार सम्म सबै तयार भईसक्ने प्रवक्ता ढकालले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि देशरभारबाट एक करोड ५४ लाख मतदाता रहने छन् ।

कमेन्टहरु
Loading...