पोखराका वेदगुरु केदारनाथ तिमिल्सिनाको निधन (को हुन् उनी)

पोखरा, ६ जेठ/ पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पण्डित केदारनाथ उपायध्याय तिमिल्सिनाको ९७ वर्षमा निधन भएको छ । सोमबार बेलुका ८ बजेर २० जादाँ पोखरा–१८, चिसाखोलामा रहेको निवासमा निधन भएको हो ।

केही दिन पहिले देखी विरामी भएपछि मणिपाल अस्पतालमा उपचार गरेर घर फर्किएका थिए । घर हुदाँ पनि आश्रम आउ जाउ गर्ने गर्थे । उनको मंगलबार बिहान ९ बजे तुलीघाट नदिपुरमा अन्तिम संस्कार हुने भएको छ ।

विसं १९८० फागुन १२ मा नुवाकोटको खनियाखर्क, धनेदेऊमा जन्मेका उनी पोखरा आएर नारायण स्थानमा गुरु प्रेमचैतन्य व्रह्यचारी र अन्य गुरु सगँ अध्ययन गरेका थिए ।

चिसाखोलको मणि भन्ने ठाउँमा पुरानो मन्दिर जीर्णोद्वार गरी उनले अग्रीहोत्र यत्र चलाउँदै आएका थिए । पत्नी गृहकुमारीको जायजन्म नभइ पहिल्यै र दिव्यश्वरीको ७ वर्ष अघि निधन भएको थियो ।

उनका २ छोरा र ६ छोरी छन् । जेठा छोरा मोक्षनाथ तिमिल्सिना, कान्छा राजेन्द्रराज तिमिल्सिना हुन् । छोरीहरु तारादेवी अधिकारी, राधादेवी पराजुली, सरस्वती सुवेदी, योगमाया अधिकारी, नानीमाया चालिसे, लक्ष्मी सापकोटा हुन् । २ छोरी तारादेवी अधिकारी, राधादेवी पराजुलीको निधन भइसकेको छ ।

को हुन् उनी

वेद गुरु पं. केदारनाथ उपाध्यायज्यूको सङ्क्षिप्त परिचय
नाम ः केदारनाथ उपाध्याय ‘तिमिल्सिना’ जन्म मिति ः वि.सं. १९८०÷११÷२२
पिता ः रघुनाथ तिमिल्सिना उपाध्याय माता ः इन्द्रछाया पितामह ः मित्रलाल
जन्मस्थान ः नुवाकोट, खनियाखर्क, धनदेऊ हाल ः पोखरा लेखनाथ महानगर–१८, चिसाखोला आश्रम, कास्की
श्रीमती ः क) स्व. गृहकुमारी (जायजन्म नभै निधन) ख) स्व. दिव्यश्वरी
छोराहरु ः जेठा ः मोक्षनाथ तिमिल्सिना, कान्छा ः राजेन्द्रराज तिमिल्सिना छोरीहरु ः स्व. तारादेवी अधिकारी, स्व. राधादेवी पराजुली, सरस्वती सुवेदी, योगमाया अधिकारी, नानीमाया चालिसे, लक्ष्मी सापकोटा

नुवाकोट जिल्ला खनियाखर्क धनदेऊमा वि.सं. १९८० फाल्गुण २२ गते पं. रघुनाथ र इन्द्रछायाको छैटौं पुत्रको रुपमा वैदिक सनातन मर्यादामा रहेका पण्डितकुल, सम्पन्न परिवारमा जन्म भएको । वाल्यकाल मै माताजीको स्नेहबाट वञ्चित भई मावली हजुरबुवा, हजुर आमा हरिश्चन्द्र/जानुका ढुङ्गानाबाट पालनपोषण गरी हुर्केको । ५ वर्षमा घरमै प्रारम्भिक अक्षरारम्भ भई पठन पाठन भएको ।

पिताजीले खोल्नुभएको घरकै पाठशालामा गुरु तारानाथ सापकोटाबाट वेद, रुद्री, चण्डी, कौमुदी लगायतका विषयवस्तुको अध्ययन भएको । वि.सं. १९९७ मा मुक्तिनाथको दर्शन गर्न २७ जनाको टोलिमा आफू पनि आउँदा विन्ध्यवासिनीका टेकनाथ, टीकाराम रेग्मीको घरमा बास बसेको र पोखरा बाट मुक्तिनाथ दर्शन पछि सबैसँग घर फर्किएको ।

घरमा पिताजी र दाजुहरुले छिमेकी गाउँ धनिमानी कुल घरानका पं. विष्णुप्रसाद÷हेमकुमारी धितालकी साहीँलि छोरी गृहकुमारी सँग विवाह गराइदिनु भएकोमा उनको कालगतिले १ वर्ष पछि निधन भएको र पछि उनैको वहिनी दिव्यश्वरीसँग दोस्रो विवाह भएको ।

घरमा वस्न भन्दा पोखरामा टेकनाथ गुरु र गुरुआमाको कुरा सुन्दा पोखरा नै बस्ने निधो गरी घरबाट भागेर पोखरा आई पोखरा–३, नारायण स्थानमा थप अध्ययन गर्न गुरुहरु प्रेमचैतन्य ब्रÞमचारी, आत्मराम पराजुली, रुद्रनाथ पौडेल (पञ्चावी) लगायतका गुरुहरुबाट ज्ञान आर्जन गर्न पुरुञ्चौरको अम्बरेश्वर, कास्की नागडाँडाको सिंपाली समेतका ठाउँमा गुरुहरुसँग अध्ययन अध्यापन गराई हिँडेको ।

पोखरा नारायण स्थानमा धेरै गुरुहरु भएको ठाउँमा यज्ञ अनुष्ठान सतसङ्ग गर्न तालमेल नमिले पछि पोखरा–४, गैह्रापाटनका मु. लक्ष्मीप्रसाद अधिकारी र ऋषिकेशव पराजुली समेतको सहयोगमा गुरु प्रेम चैतन्य ब्रÞमचारीको नेतृत्वमा सनातन देखि चलि आएको चिसाखोलाको घनावनको विचमा माताको संरक्षणमा रहेको मणि नामले प्रचलित ठाउँमा भत्केको शिव मन्दिर जिर्णाेद्धार गरी, वसाह, माताको मूर्तिको संरक्षण गरी धार्मिक आनुष्ठानिक यज्ञको तपोभूमिमा वि.सं. १९९९ देखि आरम्भ गरेको ।

गुरुज्यूको आज्ञा अनुसार यज्ञ गर्नका लागि विभिन्न स्थानमा खेत खरिद गरि, चरु समेको व्यवस्था भयोे भने घ्यूका लागि गाइपालन गरी यज्ञ संचालन गर्न पोखराका वि. बलबहादुर कोइराला समेतका ९ जनाबाट घैयावारीको पाखो जग्गा दान पत्रको मंजुर नामाको कागज गरी २००६ सालमा गौशाला र यज्ञ संचालनमा तुलफूल गराउने गरी दान पाइएको ।

अग्निहोत्र यज्ञ गर्न सपत्नी चाहिने भएकोले विवाह भइसकेको हुँदा गुरुज्यूको आज्ञा अनुसार पत्नी दिव्यश्वरीलाई ल्याई रिडिका नेत्रप्रसादगुरुज्यूबाट आवसथ्याधान विधिबाट अग्निहोत्र यज्ञ गर्न शुरु गरि रहेको अवस्थामा चार छोरी पछि एक छोरा मोक्षनाथ र फेरी दुई छोरी पछि अर्काे छोरा राजेन्द्रको जन्म, यज्ञ संचालन र वेद, रुद्री आदिको अनौपचारिक ज्ञान र धर्म बाँडि रहेको अवस्थामा २०१७ साल पछि गुरुज्यूले आश्रम संचालनको अभिभार दिएर वद्री पहाड जानु भएकोमा आजसम्म फर्कनु वा कुनै खवर पाइएको छैन ।

गुरुज्यूको अनुपस्थितिमा आश्रमको स्थायित्व र स्वामित्वका लागि व्यक्ति, संघसंस्था, पञ्चायत सरकारसँग पटक पटक न्यायालयमा न्यायका लागि ‘‘अन्याय नगर्नु न्याय खोज्नु, न चोर्नु नढाट्नु, नविराउनु नडराउनु’’ भन्ने उद्घोषका साथ सादा जीवन उच्च विचार लिएर अघि बढेको अवस्थालाई उत्तराधिकारी जेठो छोरा मोक्षनाथको सहयोग र नेतृत्वमा आश्रम सँगसँगै संचालन गर्न पोखरा चिसाखोला वेद विद्याश्रम संस्था दर्ता गरी औपचारिक वैदिक शिक्षाको थालनी गरेर कक्षा १२ सम्मको पढाइ भएको छ ।

तत्कालिन श्री ५ को सरकार, महाराजाधिराजबाट गोरखा दक्षिण बाहु चौथाबाट विभूषित, विभिन्न संघसंस्था व्यक्तिबाट सम्मान अभिनन्दन । गुरुप्रेम चैतन्यज्यूको चिरकालसम्म स्मरणका लागि एक कोठा निर्माण गर्ने खर्च रकम र गुरुज्यूहरुको स्मरणमा ‘चिसाखोला आश्रम गुठी अक्षयकोष’ मा केदारनाथ र धर्मपत्नी दिव्यश्वरीबाट रु. ५,५१,००१।– को अक्षयकोष स्थापना गरिदिएकोमा त्यसको आर्जित व्याजबाट आश्रमको यज्ञ संचालन समेतमा सहयोग पुग्ने लक्ष्य रहेको छ ।

गुरु आश्रम नदिपुर नारायणस्थान पोखरा–३ मा ‘चिसाखोला आश्रम गुठी’ नाम राखी २५,०००।– को अक्षयकोष खडा गरिएको । मन वचन कर्मले ‘सबैलाई सारस्वर सहित रुद्री, वेद पढाउँछु कुनै पारिश्रमिक लिन्न सन्ध्योपासन र रुद्री पाञ्चायन देवताले नै सबै मनोकामना पु¥याउँछन्’ भन्दै ९५ वर्षमा पनि सन्ध्योपासन रुद्रि वेद सारस्वर सहित पढाउँदै ।

‘पढ्न आऊ दैविसम्पत्ति लिन आऊ आसुरी सम्पत्तिमा लिप्त नहोऊ’ भन्ने भनाइ राख्दै ९५ वर्ष । सन्ध्योपासन र सारस्वर सहित रुद्री कण्ठस्थ बुझाउनेलाई फूलमाला अविर र वहाँको जेष्ठ नागरिक भत्ताको रकमबाट रु. १५,००।– नगद पुरस्कार दिइ रहेको र त्यसको व्यवस्था गर्न उत्तराधिकारीलाई अह्राएको ।

कान्छो छोरा राजेन्द्रराज र सबै सन्तति एवं शिष्य शाखाहरुले वैदिक कर्म गर सारस्वर सहित रुद्रि, वेद पढ्न पढाउनका लगि थप प्रेरणा । ‘वेद विद्याश्रममा सहयोग गर, यज्ञ गर गराउ, दैवि सम्पत्ति कमाउ भन्दै निरोगि भएर १०० वर्ष बाँचेर सहयोग गर’ भन्दै आशिर्वाद सहितको सन्देश ।

कमेन्टहरु
Loading...