पोखरा टु लुम्बिनी साईकलमा यात्रा ‘टुर दि लुम्बिनी’

पोखरा, ५ जेठ /यात्रा लामो छ । विहानै साईकल यात्रामा निस्किए साईकल यात्री । पोखराबाट शुरु भएको यात्रा लुम्बिनीमा पुगेर टुंगियो । दुई दिनको यात्रा । बीच यात्रामा बसाई पछि फेरी शुरुभयो दोस्रो दिनको यात्रा ।

दोस्रो दिनको यात्राको गन्तव्य थियो शान्तिका प्रतिक गौतम बुद्धको जन्मथलो लुम्बिनी । बुद्ध जयन्तीकै दिन शनिबार लुम्बिनीको यात्रा तय गरिएको थियो । साईकल सिटी पोखरा र साईक्लिङ संघ कास्कीका साईलिष्टहरुको सहभागितामा लामो यात्रा तय गर्दै लुम्बिनी पुगेका थिए ।

चर्को घामसँगै बदली रहने मौसमसँग पैठें जोरी खेल्दै साईकल यात्रा उत्तिकै जोखिम पनि थियो । राजमार्गमै साईकल दौडाउनुपर्दा ठूला सवारी साधनको हर्नले समस्या । त्यसमा पनि अझ नजिकै बाट ल्याउँदा आङ्गै सिरिङ हुने । तर पनि यात्रालाई गन्तव्यसम्म पुगे पोखरेली साईकल यात्री । यात्रामा थिए १५ जना । अभियान थियो अन्तरिक पर्यटन वर्ष २०१९ लाई प्रवद्र्धन गर्ने । त्यही अनुसार गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले बिदाई गरेका थिए ।

टुर दि लुम्बिनी नारा तय गरिएको थियो । शुक्रबार विहान साढे पाँच बजे पोखराबाट हिडेका थिए उनीहरु । एक रात बास पाल्पामा हुन पुग्यो । पाल्पाबाट शनिबार बिहान ६ बजे यात्रा शुरु गरिएको थियो । लुम्बिनी पुग्दा दिउँसो १ बजेको थियो । हपहपी गर्मी भएपनि आन्तरिक पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यप्रति विचलित भने केही भएनन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्यलाई गण्डकी प्रदेश सरकारले पठाएको झण्डासहितको चिनो हस्तान्तरण गरेपछि यात्रालाई टुग्याइएको थियो । साईकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्रचार्य र साईक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष शाक्यलाई झण्डासहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।

प्रदेश सरकारले आन्तरिक पर्यटन वर्षको लागि टि सर्ट, कप, पेनड्राईभ, सय वटा १० गन्तव्य स्थानको पहिचानसहित पुस्तक प्रकाशित गरेको छ । साईकल सिटी र साईक्लिङ संघले पोखरामा वर्षेनी टुर दि पोखरा आयोजना गर्दै आएका छन् ।

त्यही अभियान अन्तर्गत पहिलो पटक सिटी र संघले टुर दि लुम्बिनी आयोजना गरेका हुन् । ‘आन्तरिक पर्यटन वर्षलाई प्रभावकारी बनाउने अभियानलाई संघ र सिटी दुवैले सहयोग पुर्याउने उद्देश्यले टुर दि लुम्बिनी अभियान गरिएको हो ।’ संघका अध्यक्ष शंकर भण्डारीले भने ।

आन्तरिक पर्यटन प्रवद्र्धन नहुदाँ पर्यटनमा दिगो विकासको सम्भावना नहुने जिकिर पर्यटन व्यवसायीले गर्दै आएका छन् । आन्तरिक पर्यटन वर्ष मनाउनको लागि प्रर्वद्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने खाँचो उत्तिकै रहेको बेला टुर दि लुम्बिनी अभियानले सार्थक सन्देश दिने विश्वास गरिएको छ ।

सस्तो प्याकेज पाउँदा विदेशिन घुम्न जाने प्रवृत्ति बढ्दै गएको छ । घुम्न योग्य ठाँउहरु अथाह भएपनि प्रचार प्रसारकै अभावले आन्तरिक पर्यटक आन्तरिक गन्तव्यसम्म पुग्न सकेको अवस्था छैन् । पहिलो देश अनि विदेश भन्ने नारा पनि छ । तर व्यवहारमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा संघ तथा सिटीले टुर दि लुम्बिनी अभियान चलाउँदै पर्यटन वर्षलाई प्रभावकारी बनाउनुपर्नेमा सबैसँग आग्रह समेत गरेको छ ।

झण्डै हस्तान्तरणपछि बोल्दै संघका अध्यक्ष भण्डारीले स्वदेश घुमेपछि मात्रै विदेश तर्फ लम्किनुपर्नेमा जोड दिए । ‘स्वदेश नै घुम्न नसकिएको अवस्थामा विदेश घुम्नुको अर्थ खासै रहदैन् ।’ उनको भनाई थियो । साईकल यात्रीले पोखरा–पाल्पा–बुटवल–भैरहवा हुदैं लुम्बिनीसम्म १८५ किलोमिटरको दुरी तय गरेका थिए ।

कमेन्टहरु
Loading...