महिला बलात्कार र हत्या घटनामा प्रशासन गम्भीर नबने आन्दोलन

पोखरा, १४ फागुन/कास्कीमा पछिल्लो समय महिला बलात्कार तथा हत्याका घटना बढ्दै जाँदा प्रशासन गम्भीर बन्न नसकेको भन्दै यहाँका महिला अधिकारका निम्ति कार्यरत विभिन्न संघसंस्थाले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै महिला सवालका विषयमा प्रशासन गम्भीर नबने आगामी दिनमा जस्तोसुकै कठोर कदम पनि चाल्न बाध्य हुने चेतावनी दिएका छन् । कास्कीमा केही दिनको फरकमा सरस्वती लिम्बु, नेहा पुन, खिममाया पुन लगायतका महिलाको बलात्कार एवं हत्या भएको साथै श्रृंखलाबद्ध रुपमा महिला हिंसा बेचविखनका घटना दोहोरिइरहेको उनीहरुको भनाइ छ ।

महिला माथि हुने गरेका विभिन्न प्रकृतिका हत्या, हिंसा, बलात्कार र बेचविखनका घटनाहरुलाई न्यूनिकरण गर्न प्रहरी प्रशासन र सरोकारवालाहरुले समयमा नै ध्यान नदिएमा हामी अधिकारकर्मी कठोर कदम चाल्न बाध्य हुन सक्ने कुरामा सम्वन्धित सबैलाई सचेत गराउँछौ, विज्ञप्तिमा भनिएको छ ।

साथै घर, परिवार, समाज, शैक्षिक क्षेत्र, कार्यालय, कार्यक्षेत्र तथा सार्वजनिक स्थल लगायत विभिन्न स्थानमा महिलामाथि हुने हिंसा प्रति नेपाल सरकारको शुन्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने नीति रहेको भएतापनि सम्बन्धीत निकायले यसतर्फ यथेष्ठ ध्यान दिन नसकेको तितो यथार्थता हामी अधिकारकर्मीले महसुस गरेको विज्ञप्तिमा उल्लेख छ । साथै महिलामाथि हुने कुनैपनि हिंसाका घटना प्रकाशमा ल्याउन सम्वन्धीत महिलाहरुसंग अपिल गर्नुका साथै बाहिर आएका घटनाहरुलाई समयमानै प्रभावकारी रुपमा सम्बोधन गरी पीडितलाई न्याय र पिडकलाई कानुनको दायरामा ल्याई कारवाहीका लागि सम्बन्धीत निकायसंग जोडदार माग गर्दछौं भनिएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा महिला मानव अधिकार रक्षक संजाल अध्यक्ष सरिता थापा, शान्तिका लागि नागरिकसमाजको संजाल संयोजक सरलाकुमारी पाण्डे, इन्सेक कार्यक्रम संयोजक शवनम शर्मा, कोपिला नेपाल कार्यकारी निर्देशक बिना शिलवाल, ल्याक संयोजक शोभादेवी पौडेल, डब्लुडब्लुजे कास्की अध्यक्ष सरिता तिमिल्सिना, मानवअधिकार एलाइन्स अध्यक्ष जानकी शर्मा, मनोसामाजिक मनोविमर्श मंच अध्यक्ष जमुना शर्मा, परिवर्तन नेपाल अध्यक्ष राज क्षेत्री, सचेत नेपाल अध्यक्ष केशु भुजेल, मानवअधिकारका लागि महिला एकल समूह अध्यक्ष प्रमिता तझ्या, बाल तथा महिला शसक्तिकरण समाज नेपाल अध्यक्ष सीता भट्टराई, महिला मानव अधिकार रक्षक संजाल सचि इन्द्रकुमारी शर्मा, एड्भोकेसी फोरम नेपाल मनोविमर्शकर्ता प्रभा आचार्य , महिला मानअधिकार रक्षक संजाल सदस्य मीरा पोखरेल, पुनम गुरुङ छन् ।

कमेन्टहरु
Loading...