कास्कीका एसपी कार्कीको एक्सनः पोखरामा अपहरण गर्ने अपहरणकारी आधा घण्टामै पक्राउ

पोखरा, २५ भदौ / पोखरामा बुधबार एक व्यवसायीको अपहरण भयो । विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अपहरण गर्यो ।

पोखरा ९ नयाँबजार स्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय भवन अगाडिको सडकबाट ४ जनाको समूहले जीवनलाई जबरजस्ती गाडीमा हालेर लगेका थिए । साथमा पल्सर मोटरसाइकलले स्कटिङ गरेको थियो ।

सूचना पाएको केही बेरमा नै अपहरणकारीविरुद्ध कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले तत्कालै एक्सन लिए । फलस्वरुप कास्की प्रहरीको टोलीले आधा घण्टामै अपहरणकारी समात्न सफल भयो ।

प्रहरी टोलीले ११ बजेर ३० मिनेटमा पोखरा ९ शान्तिवन स्थित निर्माण व्यवसायी समितिको कम्पाउण्ड भित्रबाट अपहरणमा परेका व्वयसायी जीवनलाई सकुशल उद्धार गर्दै ४ जना अपहरणकारीलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा, पोखरा २ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, पोखरा ८ बस्ने ५० वर्षीय बासुदेव पोखरेल, पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा रहेका छन् ।

उनीहरुले प्रयोग गरेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

कमेन्टहरु
Loading...