पोखराकी श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड

पोखरा, २७ कात्तिक / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको चर्को आलोचना चलिरहेका बेला बेला पोखरामा १० असोजमा एकाएक एउटा समाचार भाइरल भयो, ‘पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा नबित्दै पक्राउ परे ।’

कञ्चनपुर घटनामा धमिलिएको प्रहरीको छविलाई पोखरामा पाएको ‘सफलता’ ले एकहदसम्म भएपनि बचायो । समाचार पढ्नेहरुले भने, ‘राजनीतिक दबावमा नपर्ने हो भने नेपाल प्रहरी सक्षम छ ।’ तर, पोखरामा प्रहरीले पाएको ‘सफलता’मा एउटा जनावरको अहम भूमिका थियो भन्ने कमैलाई थाहा छ । त्यो हो प्रहरीको ‘कुशल’ नामक कुकुर ।

घटनालगत्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाबाट खटाइएको ‘कुशल’ नामक कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगेको थियो । १० वर्षीया बालिका श्रेया विकको बलात्कार प्रयासपछि हत्या गरेका २७ वर्षीय कुसुम पौडेल घटना भएको २४ घन्टा नवित्दै पक्राउ परे ।

अपराधीको खोजी तथा पहिचानमा अब्बल जर्मन शेफर्ड जातको कुशललाई घटनामा प्रयोग भएको ढुंगा सुँघाइएको थियो । त्यसपछि कुशलले देखाएको ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुग्यो । सुरुमा कुशल स्तुपा जाने पैदल बाटो हुँदै उक्कालोतर्फ गयो । कुशल अल्मलिएझैं देखिन्थ्यो । तर, पुनः सोही बाटो ओरालोतर्फ झरेर सडक नजिकैको पसलमा वरिपरि घुमेपछि प्रहरीले छिमेकीमाथि नै शंका गरेका थियो ।

नभन्दै अभियुक्त त्यही पसलमा रहेछन् । त्यहाँ बसेर मदिरा तथा लागूऔषध सेवन गरेको खुलेपछि प्रहरीले कुसुमलाई पक्राउ गरेको थियो । प्रहरीलाई दिएको बयानमा उनले भनेका थिए, ‘सुरुमा अघिल्लो दिन म हिँडेको बाटोतिर कुकुर गएपछि खुशी भएको थिएँ तर, फेरि मतिरै आउँदा झसँग भएँ ।’

कुशलको कुशलता

यतिमा मात्रै सीमित छैन । उसले ११ असोजमा पोखरामा हत्या गरिएकी ६० वर्षीया श्रीमाया गुरुङको अभियुक्तलाई पनि पक्राउ गरायो । घर बाहिर बारीमा हत्या गरी छोपेर राखिएको अवस्थामा भेटिएको शवको छेवैमा रहेको ढुंगा र हँसियालाई सुँघेपछि कुशल अनुसन्धान कार्यमा खटियो ।

गन्ध पहिल्याउँदै अघि बढ्ने क्रममा कुशलले प्रहरीलाई ४ किलोमिटर पर चोकबाट भित्रपट्टी रहेको धानबारीसम्म र्पुयायो, जहाँ मृतकका श्रीमान् यमबहादुर गुरुङ लुकेर बसेका रहेछन् । सोधपुछका क्रममा उनले कसुर स्वीकारे ।

चार वर्षदेखि प्रहरी अनुसन्धानमा सेवारत कुशल आज्ञापालन र अपराधीको खोजीका कारण अनुसन्धान अधिकारीहरुमाझ प्रिय छ । उसले थुप्रै घटनामा अनुसन्धानकर्तालाई सही बाटो देखाएको छ । हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर उसले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० वर्षको अवसरमा कुशलले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको छ ।

कमेन्टहरु
Loading...