सरकार विरुद्ध सडकमा उत्रिन तयार रहनुहोस् –देउवा

पोखरा, ५ माघ /नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् । सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओलि सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

पोखरामा नेपाल निजामति कर्मचारी यूनियन संघको गण्डकी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले सरकारले विभिन्न नाममा कर्मचारी माथी हस्तक्षेप बढाएको आरोप लगाए । कर्मचारीतन्त्र स्वतन्त्र हुनुपर्ने भन्दै उनले कर्मचारी माथीको हस्तक्षेप नरोके सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

उनले सरकारले कर्मचारी समायोजनमा हस्तक्षेप गरेर नियन्त्रण गर्न खोजेको भन्दै राजनीतिकरण गर्न खोजे सरकार विरुद्ध सडकमा जानुपर्ने बताए । जिपी कोइराला श्वास प्रश्वास केन्द्रको नाम हटाउन लागेको भन्दै उनले सरकारले अराजनीतिक गतिविधि देखाएको गुनासो गरे । ‘गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाको नाम सँगपनि सरकारलाई एलर्जी छ । हाम्रा महान नेताहरुको नाम पनि राख्न चाहाँदैनन्, उनले भने–आज नेताको नाम हटाउने र भोलि प्रजातन्त्र हटाउने षड्यन्त्र भैरहेको उनले बताए ।

कार्यक्रममा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले बिकास भत्तकाउने र इतिहास मासने काम गर्न थालेको आरोप लगाए । उनले लोकतन्त्र जोगाउन काग्रेसले सदन देखि सडक सम्म आन्दोलन गर्ने चेतावनी दिए ।

नेता पौडेलले स्थिर सरकार भए पनि शान्ति सुरक्षा, सुशासन र विकासमा असफल भइसकेको बताए । सरकारले संवैधानिक निकाय लगायत सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न थालेको बताए । शनिबार नै नेपाल मुस्लिम संघको प्रथम गण्डकी प्रदेश स्तरीय भेलालाई नेताहरुले सम्बोधन गरेका थिए ।

कमेन्टहरु
Loading...