सर्प खोज्दै युवा वैज्ञानिक विवेक पौडेल

पोखरा, १४ जेठ/पोखराका युवा वैज्ञानिक विवेक पौडेल आफूले १५ वर्ष पहिला पत्ता लगाएको सर्पदशंको औषधि सर्पामृतलाई आधिकारिकता र कानुनी मान्यता दिलाउन थप अनुसन्धानका निम्ति सर्पहरूको खोजी गरिरहेका छन् । तनहुँ आँबु खैरनीकी परिमाया भुजेलको देब्रे हातको कान्छी औंलामा हरियो सर्पले टोके पछि उनलाई उपचारका लागि पश्चिमाञ्चल अस्पतालमा ल्याइएको थियो । तीन दिन अस्पतालमा बसेपछि डाक्टरले शल्यक्रिया गरी हातै काटेर फाल्नुपर्ने बताए ।

विवेकले परिमायाका बाबुसँग अनुमति लिएर सर्पामृत औषधि दिए पछि एक घण्टामै उनको स्वास्थ्यमा सुधार आयो र ३ दिनमै हात ठीक भयो । डा. विद्याभुषण ताम्राकारले आधुनिक औषधि विज्ञानलाई यसले चुनौती दिएको स्वीकारेका थिए । उनले यो औषधिको प्रभावकारिताको अनुसन्धान गहन रुपमा हुनपर्नेमा जोड दिन्छन् ।

सर्पामृत आयुर्वेदिक व्याकरणमा तयार भएकाले यसले साइड इफेक्ट गर्दैन विवेक भन्छन् । यहि औषधिका कारण धेरै विरामीले लाभ लिएका छन् । अन्नपूर्ण आयुर्वेदिक कम्पनीका सञ्चालक समेत रहेका विवेकले पत्ता लगाएको सर्पामृत औषधिको कानुनी मान्यता आवश्यक रहेको कुरामा उनी जानाकार छन् । यतिवेला उनी आफ्नो तीन पुस्तादेखिको विरासतलाई आधिकारिकतामा रूपान्तरण गर्न चाहेका छन् ।

सर्पदंश नेपालमा मात्रै होइन संसारभर वास्ता नगरिएको जनस्वास्थ्य समस्या हो । नेपालको पहाडी प्रदेश र मधेशमा सर्पको डसाई प्रकोप बनिरहँदा सरकारले निःशुल्क एन्टी स्नेक भेनम सेरमको भाइल उपलब्ध गराउँदै आएको छ । सर्पामृतले कानुनी मान्यता पाउने हो भने यसको लोकप्रियता स्थापित हुनेछ ।

सर्प जाडो र हिउँदमा तातोको खोजीमा जमिनमुनि लुकेर बस्ने र गर्मीसँगै आहाराको खोजीमा बाहिर निस्कन्छ । गर्मीसँगै वर्षाद् सुरु भएपछि सर्पको टोकाइबाट वर्षेनी करिब एक हजार मानिसले ज्यान गुमाइरहेको तथ्याङ्कले देखाउँछ ।

सर्पको डसाई विरुद्ध दिइने यो औषधि र सुई नेपालमा बन्दैन सरकारले भारतबाट आयात गर्छ । बेलाबेलामा यो आफैमा अभाव पनि हुँदे आएको छ । सुइले मात्रै पनि विरामीको ज्यान जोगाउन नसकिने हुन्छ, युवा वैज्ञानिक विवेक पौडेल भन्छन् “सरकारले स्वीकृति र अनुमति दिने हो भने उनैले पत्ता लगाएको औषधि यहींं प्रयोग गर्न सकिन्छ ।

सर्प हाम्रा लागि हानिकारक भए जस्तै पर्यावयरणी, धार्मिक, जीवशास्त्रीय र वातावरणीय दृष्टिले लाभकारी पनि छ । चोटपटक लागेको घाऊ निको पार्नुका साथै सर्पको विषबाट विभिन्न खाले औषधि बनाउन सकिन्छ । सर्पले टोकेको बेला प्रयोग हुने औषधि समेत त्यही विषबाट बनाउन सकिने सर्प विशेषज्ञ प्रा.डा. करण थापाको भनाइ छ ।

औषधि व्यवस्था विभागका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा समेत पुगेर विवेक स्वयम्ले यसका बारेमा जानकारी दिएका छन् र आफ्नो अनुसन्धानलाई अगाडि बढाइरहेका छन् । अहिले गण्डकी मेडिकल कलेजका डा. विजय अर्यालसँग सहकार्य गरी दुबै मिलेर आन्तरिक अध्ययन र अनुसन्धान गरी औषधिको अन्तिम रूप दिने तयारीमा छन् ।

आफैलाई सर्पले टोकाएर आफैले पत्ता लगाएको औषधिले निको गराउन उनी सफल भएका छन् । ‘हामीले तयार गरेको भेनमले सर्पदंशको सत्प्रतिशत उपचार गर्छ, विष नै नलागेको मान्छेलाई दिँदा पनि असर गर्दैन’, उनले दावीका साथ भने, ‘हामीले तयार गरेको औषधि नाष्टको परिक्षणबाट पास भयो भने भोलिका दिनमा सर्पदंशबाट कोही कसैले ज्यान गुमाउनु पर्दैन् ।

सर्पदेखि पछि कि त मारी हाल्ने कि त भागी हाल्ने हाम्रो बानी छ । सर्पलाई प्रयोग गर्न जान्ने हो भने यसको विषबाट एन्टी भेनम औषधि तयार गर्न सकिन्छ भन्छन् विवेक । नेपालको कानुन अनुसार न त सर्प पाल्न पाइन्छ न त सर्प किन्न नै । त्यसैले आफ्नो अनुसन्धानलाई मूर्त रुपदिन उनी सर्पको खोजीमा छन् ।

अन्नपूर्ण आयुर्वेदिक कम्पनीबाट विवेक आफैले तयार गरेको आर्सरी चूर्ण र तेलले विना शल्यक्रिया पायल्सका हजारौं विरामी निको भइसकेका छन् । जण्डिस, पिनास, सुगर र रक्तचाप जस्ता रोगहरूको पनि उनले सफल उपचार गरेर ख्याति कमाइसकेका छन् । उनले पत्तालगाएको औषधि सर्पामृतलाई सरकारले मान्यता दिने हो भने औषधि खरिदका नाममा बाहिरिरहेको ठूलो धनराशी स्वदेशमै रहने छ ।

कमेन्टहरु
Loading...