संविधान दिवसका अवसरमा प्रदेश प्रमुखको शुभकामना

पोखरा, ३ असोज / प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु लोकको लागि खुशीको विषय खुशीको विषय भएको बताएका छन् ।

संविधान दिवस २०७६ का अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । ‘संवैधानिक मर्म र भावना बमोजिम अहिले स्थानीय, प्रदेश र संघीय सरकार क्रियाशिल छन् ।

तीनै तहका सरकारबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको छ’ प्रमुख कुँवरले जारी गरेको सन्देशमा भनिएको छ ।

सन्देशमा संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्ने लक्ष्य राखेको समेत जनाइएको छ ।

‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने दिसातर्फ संविधान क्रियाशिल र चलायमान छ’ प्रदेश प्रमुखले जारी गरेको शुभकामनामा भनिएको छ,‘संविधानको यस महत्वपूर्ण भावनालाई आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंग, संवैधानिक निकाय र आमनागरिक क्रियाशील हुनु अहिलेको मुख्य आवश्यकता हो भन्ने मलाई लागेको छ ।’

प्रदेश प्रमुख कुँवरले सन्देशमार्फत संविधान दिवसले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्ने प्रेरणासहित जनजन र मनमनमा दृढ इच्छाशक्ति तथा अठोट जागृत होस् भन्ने अपेक्षा समृेत लिएका छन् ।

उनले नेपाली जनताको लामो संघर्ष, बलिदान र दृढ संकल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, सबै राजनीतिक दल, गण्डकी प्रदेशवासी र देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाईसमेत आव्हान गरेका छन् ।

कमेन्टहरु
Loading...