पोखरा महानगरका योजनालाई व्यवस्थित गर्न सफ्टवेयर

पोखरा, ४ मंसिर/ पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट निर्माण गरी सफ्टवेयरको शुभारम्भ गरेका छन् ।

सफ्टवेयरको शुभारम्भ गर्दै मेयर जिसीले सरोकारवालालाई कामप्रति जिम्मेवार बनाउन सफ्टवेयर निर्माण गरिएको बताए । सिष्टमको विकास गरेर योजनाका कामलाई पारदर्शी र व्यवस्थित बनाउन यसले सहयोग पु¥याउने उनको भनाइ छ ।

‘सफ्टवेयरको निर्माणले योजनाको सामाजिक अडिट गर्न पनि सजिलो हुन्छ,’ उनले भने,‘ सुशासन अन्तर्गत नै महानगर पालिकाले योजना सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर निर्माण गरेको हो, यसले उपभोक्ता समितिलाई पनि समयमा काम सक्न जिम्मेवार बनाउँछ भन्ने विश्वास लिएको छु ।’ यो सफ्टवेयरले योजना महाशाखा र आर्थिक प्रशासन शाखाबीच समन्वय गर्न पनि सहयोग पु¥याउने उनको भनाइ छ ।

सफ्टवेयरमा योजनाको सम्झौता, सुरु मिति, सम्पन्न मिति पनि राखिने हुनाले तोकिएको मितिमा काम सम्पन्न नभएमा भुक्तान नदिने व्यवस्था पनि गर्न लागिएको प्रमुख जिसीले बताए ।

महानगरले निकाल्ने वार्षिक योजना पुस्तिकामा समावेश भएका योजनालाई सफ्टवेयरमा राखिने योजना महाशाखा प्रमुख शारदा मोहन काफ्ले जानकारी दिए । उनका अनुसार योजनाको सम्पूर्ण विवरण सफ्टवेयरमा हेर्न सकिने छ ।

सफ्टवेयरमा योजना सम्पन्न हुनु भन्दा करिब एक तिहाइ समय बाँकी रहँदा उक्त योजनाको सम्पन्न हुुनुपर्ने मितिको जानकारी योजना महाखामा सफ्टवेयर दिनेछ र योजना महाखाशाले सम्बन्धित उपभोक्ता समितिलाई जानकारी गराउने काफ्लेले बताए ।

पहिलो चरणमा पूर्वाधार विकास कार्यक्रममा समावेश गरिएको योजनालाई सफ्टवेयरमा राखिने र क्रमशः अन्य विषयका कार्यक्रमलाई समेटिने सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

योजनाहरुलाई योजना महाशाखाले सफ्टवेयरमा राख्दछ र यसको नियमन तथा अनुगमन प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखाले गर्न सक्ने सूचना प्रविधि अधिकृत द्वारेले बताए । सफ्टवेयरको बारेमा सफ्टक्रन्च कम्पनीका सुमन लम्सालले जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...