पोखराका सोलार पोलमा ५ करोड विज्ञापन

पोखरा, ३० कात्तिक/ पोखरामा महानगरपालिकाले सोलार पोलबाट विज्ञापन कर उठाउन आवश्यक टेण्डर प्रक्रियालाई टुंग्याएको छ । बिहीबार महानगरपालिकाले सोलार पोलमा बोर्ड झुण्ड्याउन काठमाडौंको नेपाल मिडिया टेक्नोलोजी प्रालिलाई दिनेगरी टेण्डर प्रक्रिया टुग्याइएको हो । महानगरपालिकाभित्र रहेका सोलार पोलमा विज्ञापनिक बोर्ड झुण्ड्याउन दिने नीतिगत निर्णय अनुसार टेण्डर प्रक्रियामा लगिएको थियो ।

होर्डिङ बोर्डको ठेक्का सम्झौता विवादमा आएपछि पोखरा महानगरपालिकाले सोलार पोलमा विज्ञापन बोर्ड राख्न टेण्डर प्रक्रियामा जानुपर्ने दबाव आएको थियो । टेण्डर प्रक्रियमा विभिन्न चार कम्पनीले चासो दिएका थिए । तर महानगरपालिकाले तोकेको राजस्व रकमभन्दा केही बढी हालेको टेक्नोलोजी प्रालिलाई उत्कृष्ठ ठहर गर्दै निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

टेक्नोलोजी प्रालिले महानगरपालिकाका २ हजार ८८ सोलार पोलमा स्लीम लाईट बोर्ड राख्ने पाउने छ । बोर्ड राखे वापत प्रालिले महानगरपालिकालाई वार्षिक एक करोड रुपैयाँ राजस्व दाखिला गर्ने महानगरपालिका राजस्व शाखाका प्रमुख छवि शर्माले बताए । ‘वार्षिक एक करोड राजस्व बुझाउने गरी पाँच वर्षको लागि भ्याटसहित ५ करोड ६६ लाख रुपैयाँ बराबरको टेण्डर प्रक्रियामा लगेका थियौं ।’ उनले भने–‘मापदण्ड पुरा गरेको प्रालिलाई उत्कृष्ठ ठहर गर्दै दियौं । कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ पाँच वर्षमा बुझाउँछ ।’ कम्पनीले ५ करोड ६६ लाख २४ हजार रुपैयाँ कबोलसहित टेण्डर हालेको थियो ।

उनका अनुसार अन्य कम्पनीले महानगरपालिकाले तोकेको राजस्व भन्दा कम रकम कबोल गरी टेण्डर फाराम भरेका थिए । टेण्डरमा नेपाल मिडिया टेक्नोलोजी, आउट डोर मिडिया हाउस प्रालि, स्मार्टसिटी सोलुसन, न्यु डिजिटल मिडिया सर्भिस प्रालि काठमाडौं प्रतिस्पर्धामा थिए । महानगरपालिकाका ३३ वटै वडामा सोलार पोल जडान हुदैं छ ।

गत आर्थिक वर्षमा

जडान गर्न बाँकी रहेका ३ सय ९ पोल यसै आर्थिक वर्षमा जडान गरिदैं छ । जडान गरिएपछि पोखरा महानगरपालिका भित्र सोलार पोलको संख्या २२ सय पुग्ने महानगरपालिकाका प्राविधिक धु्रव भट्टराईले सुनाए । उनका अनुसार महानगरपालिकाको वडाहरुमा सोलार पोलको माग बढ्दै गएको छ । पृथ्वीराजमार्गका समेत सोलार पोल जडान गरिएको छ । राजमार्ग अन्तर्गत विजयपुर देखि पुर्व तर्फ पनि सोलार पोल जडान गर्ने तयारी गरिएको छ । सबैभन्दा बढी सोलार पोलको माग भने वडा नं १७ मा रहेको उनले बताए ।

राजस्व शाखाका प्रमुख शर्माका अनुसार पोलमा ३ फिट लम्बाई र २ फिट चौडाईको बोर्ड झुण्ड्याउने पाउने प्रावधान छ । सोलार पोलबाट आउने विज्ञापन कर महानगरपालिकाको विशुद्ध आन्तरिक स्रोतको रुपमा रहने छ । महानगरपालिकाले बजार क्षेत्रमा रहेका साना तथा होर्डिङ बोर्डबाट वार्षिक २६ लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा बोर्डबाट राजस्व उठाउँदै आएको हो । होर्डिङको ठेक्का भने आकृति एडभर्टाईजिङ एजेन्सीले लिएको छ । होर्डिङ बोर्डको ठेक्का सम्झौता अवधि असार मसान्तसम्म रहेको उनले जानकारी दिए ।

महानगरपालिकाले बजार

क्षेत्रमा राखेको आधुनिक प्रतिक्षालय तथा आईल्याण्डबाट समेत वार्षिक ३० लाख रुपैयाँ राजस्व उठाउँदै आएको छ । महानगरपालिकाको विभिन्न वडामा विशेष गरी बजार क्षेत्रमा ५३ वटा प्रतिक्षालय छन् । १५ वटा आईल्याण्ड राखिएको छ । प्रतिक्षालय र आईल्याण्डमा बैंक तथा अन्य विभिन्न संघसंस्थाले आफनो विज्ञापन राखेका छन् ।

सोलार पोललाई उपयोग गर्दै महानगरपालिकाको आन्तरिक स्रोत वार्षिक एक करोड रुपैयाँ थपिने महानगरापलिका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले सुनाए । ‘ध्यान नपुगेको ठाँउबाट आन्तरिक स्रोत बढाउने उपाय खोज्ने क्रममा सोलार पोल प्राथमिकतामा पर्यो ।’ उनले भने–‘अन्य यस्तै स्रोत खोज्दै आन्तरिक स्रोत बढाउन सकिए विकासे योजना कार्यान्वयन गर्न अझ सहज हुने थियो ।’

कमेन्टहरु
Loading...