पोखराका छाडा चौपायको व्यवस्थापन बिहीबार देखि, भलाम र मौजामा व्यवस्थापन

सागर राज तिमिल्सिना
पोखरा, १८ साउन/ पोखरा लेखनाथ महानगरलालिकाका सडकमा छाडिएका छाडा चौपाए पोखरा नम्बर २० को मौजामा व्यवस्थापन गर्ने भएको छ । महानगरले भलाम र मौजामा व्यवस्थापन गर्ने गरि दुग्ध उत्पादक सहकारीलाई जिम्मा दिएको हो । सडकमा रहेका चौपाएका कारण सवारी सञ्चालनमा बेला बेलामा प्रभावित बनाए पछि महानगरले छाडा चौपायको व्यवस्थापनमा लागेको हो ।

पोखरा लेखनाथ महानगरपालिकाले वडा नम्वर २० भलाम स्थित स्थानापति दुग्ध उत्पादक सहरकारी संस्था लिमिटेडलाई छाडा चौपाय व्यवस्थापन गर्ने जिम्मा दिएको हो । सहकारीले पोखरा महानगरपालिका वडा नम्वर २० र १६ को सराद्दे र पचमराम क्षेत्रको करिव तीन सय रोपनी क्षेत्रफलमा रहेको पाखो र वन क्षेत्रमा चौपायाको व्यवस्थापन गर्ने योजना अनुसार महानगरले छाडा चौपाया व्यवस्थापनका लागि सम्झौता गरेको हो । वडा नम्वर २० का वडा अध्यक्ष सीम बहादुर गुरुङको पहलमा छाडा चौपायाको व्यवस्थापनकालागि सम्झौता भएको हो ।

सम्झौता अनुसार महानगरपालिकाले बिहीबारवाट नै महानगरका छाडा चौपाया संकलन गरि सहकारीको जिम्मा लगाउने गरि तयारी सुरु गरेको पोखरा लेखनाथ महानगरपालिका बरिष्ठ कानूनी अधिकृत नारायण शर्माले बताए । सहकारीले जिम्मा लिए संगै अवको एक महिना भित्र महानगरको मुख्य बजार क्षेत्रमा भएका छाडा चौपाया गाई, वाच्छा, वहर, गोरु, भैसीको व्यवस्थापन हुने उनले विश्वास गरे ।
चौपायाको व्यवस्थापनकालागि गोठको व्यवस्थापन गर्ने, घासँ पातको व्यवस्थापन गर्ने, औषधी उपचारका व्यवस्थापन समेत सहकारीले गर्ने छ ।

महानगरपालिकाले सहकारी संग चौपाय राख्ने आवश्यक भौतिक पूर्वाधार तथा गोठ निमार्ण गरि पशु अधिकारको संरक्षण हुने गरि खानपिन, दाना पानी, विरामी हुँदा औषधि उपचार समेत गर्ने गरि ५ सय वटा सम्म छाडा चौपाया व्यवस्थापन गर्ने गरि एक बर्षको सम्झौता गरेको हो । सहकारीले चौपाया व्यवस्थापन गरे वापत महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने शर्माले बताए ।

संकलन गरिएका चौपायाले अन्यत्र गई खेती वाली खाई हानी नोक्सानी भएमा त्यसको क्षतिपूर्ति सहकारीले तिर्नु पर्ने छ । सहकारीले प्रत्येक महिनाको अन्त्यमा चौपाया व्यवस्थापन केन्द्रमा रहेका पशु÷चौपायाहरुको संख्या र अवस्था सहितको मासिक प्रतिवेदन महानगरपालिकालाई पेश गर्नु पर्ने छ । यसवाट पोखरा महानगरपालिकामा छाडिएका छाडा चौपाया नियन्त्रण हुने महानगरपालिकाको विश्वास छ ।

कमेन्टहरु
Loading...