नजिता प्रति असन्तुष्टपछि पोखरा विश्वविद्यालय तोडफोड

पोखरा, १० फागुन/इन्जिनियरिङका विद्यार्थीले नजिता सन्तोषजनक नआएको भन्दै पोखरा विश्वविद्यालय तोडफोड गरेका छन् । बुधबार मात्रै प्रकाशित सिभिल इन्जिनियरिङको नजिता अप्रत्याशित भएको भन्दै उत्तेजित विद्यार्थीले विश्वविद्यालय तोडफोड गरेका हुन् ।

बुधबार निस्किएको नजितामा अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका थिए । ४० मध्ये ३८ जना फेल भएको नजिता प्रकाशित भएपछि विद्यार्थीले त्यसको बारेमा जानकारी लिन विश्वविद्यालय पुगेका थिए । विश्वविद्यालयमा विद्यार्थी गएसँगै विश्वविद्यालयका रजिष्टार, कन्ट्रोलर लगायतका पदाधिकारी हराए भएपछि उत्तेजित विद्यार्थी तोडफोडमा उत्रिएको विद्यार्थी नेताले बताएका छन् ।

विद्यार्थी तोडफोडमा उत्रिएपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो । प्रहरीको आगमनसँगै झनै आक्रोषित विद्यार्थीले भिसीको कुर्ची, रजिष्टार र कन्ट्रोलरको कुर्सी आगजनी समेत गरेका थिए । केही तनावपूर्ण अवस्था सृजना भएपछि प्रहरीले पाँचजना विद्यार्थीलाई भ्यानमा राखेर नियन्त्रणमा लिएपछि केही साम्य हुन पुगेको थियो ।

विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल तिमिल्सिनाले विद्यार्थीको जिज्ञासा मेटाउन तर्फ विश्वविद्यालय प्रशासनले गम्भीर्यता नदेखाउँदा विद्यार्थी तोडफोडमा उत्रिएको बताए । ‘इन्जिनियरिङ टपर विद्यार्थीको रिजल्ट फेल भएर आएको छ । अधिकांश विद्यार्थी फेल भएका छन् ।’ उनले भने–‘नजिताप्रति असन्तुष्टी देखिएको विद्यार्थीको जिज्ञासा मेटाउने तर्फ विश्वविद्यालय प्रशासन गैर जिम्मेवारी देखियो ।’

विद्यार्थी विश्वविद्यालय परिसरमा गएपछि प्रशासनका पदाधिकारीहरु गायब भएपछि विद्यार्थी आक्रोषित हुन पुगेको विद्यार्थीहरुको ठम्याई छ । ‘विद्यार्थीको गुनासोलाई विश्वविद्यालय प्रशासनले रेसपोन्स नै नगरी गायब हुनुले तनाबको अवस्था सृजना हुन पुग्यो ।’ उनको भनाई थियो । प्रहरीको कुटपिटपछि विद्यार्थी आक्रोषित बनेको आरोप समेत लगाएका छन् । ‘प्रहरीले हस्तक्षेपकारी भूमिका खेल्यो । त्यसको प्रतिफल स्वरुप विद्यार्थी अझै उग्र बने ।’ उनले सुनाए ।

विद्यार्थीले क्याम्पस प्रशासनसँग सोधपुछ गर्न पाउने अधिकार रहेपछि प्रशासनको लापरवाही देखिएको विद्यार्थीको ठम्याई छ । विद्यार्थीको जिज्ञासा मेटाईदिएको भए सायद तोडफोड र आगजनीको घटना नहुने पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । विश्वविद्यालयको झ्यालका सिसा तोडफोड र आगजनीको घटनाले अन्य संकायको पठन पाठनमा गम्भीर असर परेको छ ।

कमेन्टहरु
Loading...