पोखरामा मुक्तकको कार्यशाला गोष्ठी सुरु, आज पोखरा घोषणापत्र जारी गर्ने

पोखरा, १८ माघ /पोखरामा दुईदिने मुक्तक गोष्ठी शुक्रबार सुरु भएको छ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाण्डौको आयोजना तथा मुक्तक मञ्च, पोखराको सहआयोजनामा सुरु भएको कार्यक्रमअन्तरगत शनिबार बृहत् मुक्तक वाचन कार्यक्रमसहित पोखरा घोषणापत्र जारी गरी समापन गरिने बताइएको छ ।प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ मुक्तककार रत्नशमशेर थापाले पोखरा मुक्तकका लागि उर्वर र ऐतिहासिक भूमि भएको भन्दै नेपाली मुक्तकमा देखिएका अन्यौलहरु अब पोखराबाटै हटाउने कार्यको सुरुवात् हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मुक्तक मञ्च तथा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार सरुभक्त, मञ्चका अध्यक्ष परिवर्तनले पनि शुभकामना दिनुभएको थियो । प्रतिष्ठानका महासचिव रमेश पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा सचिव बादल घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सदस्य यादव भट्टराईले गर्नुभएको थियो ।

पोखरामा मुक्तकको कार्यशाला गोष्ठी
पोखरामा मुक्तकको कार्यशाला गोष्ठी

यस्तै, दोस्रो सत्रमा ‘मुक्तकको रचना विधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. लक्ष्मणप्रसाद गौतमले नेपाली मुक्तकमा देखिँदै आएको विवाद समाधानका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । प्रायः चार पङ्क्तिमा लेखिँदै आएको मुक्तक चोटिलो हुनुपर्ने भन्दै गौतमले मुक्तकलाई सर्वमान्य गराउन विभिन्न आधार तथा प्रश्नहरु सहभागीमाझ प्रस्तुत गर्नुभयो । गौतमले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि मुक्तककै विषयमा विद्यावारिधि गर्नुभएका डा. मुरारी पराजुली प्रमुख टिप्पणी गर्नुभएको थियो भने चारवटा समूहमा विभाजन गरी सहभागीहरुले निष्कर्ष प्रस्तुत गरेका थिए ।

समूहका प्रमुखहरु रुपिन्द्र प्रभावी, प्रा.डा. विष्णुप्रसाद गौतम, डा. लक्ष्मीशरण अधिकारी र रमेश समर्थनले समूहका निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले छलफलबाट दिएका सुझावहरुलाई समेटेर मुक्तकको रचना विधानसम्बन्धी पोखरा घोषाणापत्र जारी गर्दै शनिबार कार्यक्रम समापन गरिने मुक्तक प्रतिष्ठानका सचिव बादल घिमिरेले जनाउनुभयो । साथै दोस्रो दिन मुक्तक वाचन पनि हुने भएकाले सबै मुक्तककारलाई उपस्थित हुन मुक्तक मञ्चका अध्यक्ष परिवर्तनले आग्रह गर्नुभयो । घोषणापत्र तयारीका लागि नपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा मुक्तक मञ्चका अध्यक्ष परिवर्तन, सरुभक्त, उषा शेरचन, कष्ण देवकोटा, घनश्याम परिश्रमी र राजेन्द्र थापा सदस्य रहेको एक तयारी समितिसमेत गठन गरिएको छ ।

यसअघि कार्यक्रमका लागि देशभरबाट आएका स्रष्टाहरुलाई पोखरा उद्योग वाणिज्य संघले बिहीबार साँझ एक विशेष स्वागत कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाली साहित्यमा मुक्तकसम्बन्धी विद्यमान अन्योलहरुबारे व्यापक छलफल गरी मुक्तकको ठोस रुप कायम गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमका लागि रत्नशमशेर थापा, चेतन कार्की, उषा शेरचन, राजेन्द्र थापा, डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, रमेश पौडेल, बादल घिमिरे, रामकाजी कोने, डा. घनश्याम परिश्रमी, रावलकृष्ण, निर्दोष डेबिट, छवि ज्ञवालीलगायतको समूह पोखरा आएको छ भने पोखराबाट सरुभक्त, विष्णु अल्पविराम, दीपक समीप, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, लक्ष्मण थापालगायतले मुक्तक सुनाउने बताइएको छ ।

कमेन्टहरु
Loading...