जटिल बन्दै पोखरामा मौषमी फ्लु (स्वाईन फ्लु), ३ को मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २३ साउन/पोखरामा अघिल्लो साता मौषमी फ्लु (एन वान एच वान पोजिटिभ) बाट तीनजनाको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि अस्पताल आएका विरामीको मौषमी फ्लुबाट मृत्यु भएको हो । २ सय २८ जनाको परिक्षण गर्दा १ सय ४ जनामा मौषमी फ्लु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्टोल निरिक्षक याम बरालले जानकारी दिए ।

मान्छेको मृत्यु नै हुनेगरी मौषमी फ्लु पुष्टी भएको कास्कीको हकमा यो पहिलो पटक हो । श्वासप्रश्वासका कारण यो रोग सर्ने भएकाले रोकथामका लागि निकै समस्या भएको बराल बताउँछन् । पछिल्लो समय पोखरा, स्याङजा, पाल्पा लगाएतका जिल्लाहरुमा मौषमी फ्लु जटिल बन्दै गैरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । हावामा भाईरस हुनाले रोकथाम गर्नु निकै चुनौतिपूण भएको भन्दै भिडभाडमा संक्रमण बढ्न सक्ने बताउदै बरालले सबैलाई सचेत हुने आग्रह गरेका छन् ।

उनका अनुसार खोक्दा र हाच्छ्युँ गर्दा रुमालको प्रयोग गर्ने, भिडभाडमा नजाने र मास्कको प्रयोग गर्ने, रुघाखोकी लागेका मान्छेसँग टाढा बसेर कुरा गर्ने, बाहिरबाट आएपछि हात धुने, रोगी शंका लागेका ब्यक्तिसँग सम्पर्क नगर्ने लगाएतका विधी पूरा गर्नेपनि धेरै हदसम्म भाईरसबाट बँच्न सकिने बताए । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आइरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

मौसम परिवर्तन हुने समयसमेत भएकाले रुघाखोकी, ज्वरो, टाउको टुख्ने लगायतका बिरामी अहिले पोखराका विभिन्न अस्पतालमा बढिरहेका छन् । हाल क्षेत्रीय प्रयोगशाला पोखरामा परीक्षणका लागि आउने बिरामीमध्ये दैनिक इन्फ्लुएन्जा ‘ए’ र इनफ्लुएन्जा ‘बी’ परीक्षण हुने संख्या पनि बढेको क्षेत्रीय प्रयोगशालाले जनाएको छ । हाल दैनिक २० जना हाराहारीमा यसको परीक्षण भैरहेको छ । कास्कीमा एक हप्तामा ६० वटा नमुन परिक्षण गर्दा ४१ जनामा मौषमी फ्लु देखिएको बरालले जानकारी दिए ।

पोखरामा मौषमी फ्लुबाट बच्नका लागि सचेतना अभियान सुरु गरेको छ । जिल्ला समन्वय समिति कास्की, पोखरा लेखनाथ महानगर पालिका, जिल्ला जनस्वाथ्य कार्यालय लगाएतले काम थालेका हुन् । सोमबार जिल्ला समन्वय समितिका कास्कीले पत्रकारहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यत्तिहरु विरामी हुने गर्दछन् र यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय सयममा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्तय, जाडो यामको शुरु तथा अन्तयमा साधारणतथा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी बढी देखिने गर्दछन् । अतः यी रोगबाट बच्न निन्न उपायहरु अपनाउनु हुन सर्वसाधारणमा अनुरोध छ ।

लक्ष्यणहरुः 
ज्वरो आउने (१००.४ डिग्रि परेनहाइट भन्दा बढि)        टाउको दुख्ने 
रुघाखोकी लाग्ने            घाँटी दुख्ने                             श्वास फेर्न गाहे हुने 
बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपायहरुः
खोक्दा हाच्छिउ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं । 
साबुन पानीले मिची मिची हात धुने गरौं । 
पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं । 
ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं । 
अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं । 
शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौं । 
आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाऔं । 
सकभर अरु व्यक्तिहरु सँग हात नमिलाऔ, नमस्कार गरौं । 
अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं । 
नाक मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।
ज्वरो, रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं ।

 

 

कमेन्टहरु
Loading...