सरकारको बजेटमा पोखराका योजना (के के छन् योजना)

प्रकाश ढकाल
पोखरा, १६ जेठ /सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमा पोखरासँग साइनो जोडिने केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरु राखेको छ । यो वर्षको बजेटमा पोखरा अन्तराष्ट्रिय विमानस्थलदेखि रेलमार्ग सम्मका महत्वकांक्षी योजनाहरु समेटिए ।

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले शनिवार ब्यवस्थापिका संसदमा प्रस्तुत गरेको बजेटबाट पोखरा अन्तराष्ट्रिय विमानस्थललाई आगामी चार बर्षभित्रै निर्माण गरिसक्ने योजना सहित बजेट विनियोजन गरिएको छ । यसका लागि ५ अर्व बजेट विनियोजन भएको छ ।

यस्तै पोखरा सम्म जोडेर रेल चलाउने योजना पनि सरकारले सार्वजनिक गरेको छ । रसुवागढी, काठमाडौं, पोखरा हुदै लुम्बिनीसम्म रेलमार्गको बिस्तृत परियोजना प्रतिवेदन दुई बर्ष भित्र तयार गरी निर्माण कार्य प्रारम्भ गर्ने सरकारको तयारी छ । ठ्याक्कै बजेट किटान नगरिएपनि तोकिएको समयभित्रै योजना अनुसारको काम सम्पन्न गर्नका लागि आबश्यक बजेट सरकारले ब्यवस्था गर्ने बक्तब्यमा उल्लेख छ ।

पोखरा उपमहानगरपालिकालाई महानगरपालिका बनाउनका लागि आबश्यक पूर्वाधार तथा संरचना निर्माणको काम पनि सरकारले आगामी बर्षको सुरुदेखि नै थाल्ने भएको छ । पोखरा, लेखनाथ र आसपासको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन विस्तृत अध्ययन र गुरुयोजना निर्माण गरी कार्यन्वयनमा ल्याउने बजेटमा उल्लेख छ । यसका लागि पनि बजेट भने तोकिएको छैन । बजेटमा पोखरासँग जोडिएका तीन वटा मूख्य राजमार्गको स्तरोन्नतीको योजना समेत जोडिएको छ ।

काठमाडौं–पोखरा जोड्ने पृथ्बी राजमार्गलाई चार लेनको आधुनिक राजमार्गको रुपमा स्तरोन्नती गर्ने र पोखरा–बुटवल–भैरहवाको सिद्धार्थ राजमार्ग तथा पोखरा–बागलुङको भूपिशेरचन राजमार्गलाई डेडिकेटेड डवल लेनको हुने गरी स्तारोन्नती गर्ने बजेट बक्तब्यमा उल्लेख छ । पोखरामा बाख्रापालनको लागि उन्नत प्रविधि विकास, ब्यवस्थापन तालिम र नमुना सिकाइ सहितको स्रोत केन्द्र स्थापना गरिने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।

यसअघिसम्म लगातार बजेट बक्तब्यमा आउने पोखरा चक्रपथ निर्माणको योजना भने यसबर्ष परेको छैन । ५० बर्षपछिको पोखरा परिकल्पना गर्दै चक्रपथ निर्माणका लागि गठन भएको पोखरा चक्रपथ निर्माण समितिले अघिल्लो बर्षको माघमा बैठक बसेर उपत्यका क्षेत्रभित्र करिब ७३ किलोमिटर लम्बाईको चक्रपथ निर्माण गर्ने निर्णय गरेको थियो । समितिले कास्की र तनहुँको आसपास क्षेत्रलाइ केन्द्रविन्दु मानेर घडी दिशामा चक्रपथ निर्माणका लागि प्रस्ताव समेत तयार गरिसकेको छ । तर सरकारले यो बिषयलाई खासै चासो दिएको छैन ।

चक्रपथ निर्माण गर्नका लागि २ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्राविधिक स्टीमेट अनुसार प्रति किलोमिटर सडक तयार गर्न ३ करोड १७ लाख रुपैयाँ खर्च हुनेछ । तनहुँको भीमादलाई उद्गमस्थल मानेर सुरु हुने चक्रपथ कास्कीको भरतपोखरी, निर्मलपोखरी, कृष्ति, पुम्दीभुम्दी, सराङ्गकोट, हेमजा, लामाचौर, पुरुञ्चौर, भलाम, काहुँ, अर्मला, आर्वाबिजय, कालिका हुँदै लेखनाथ बाट पुनः तनहुँको कोत्रे हुँदै भीमादमा जोडिनेछ ।

यसबाहेक सिद्धार्थ यशोधरा स्मारक निर्माणलाई निरन्तरता दिने बिषयमा पनि यो बजेटले बोलेको छैन । अघिल्लो बजेटमा स्मारक बनाई बुद्ध सर्किटमा आवद्ध गर्नुका साथै कला साहित्य सिर्जना उद्यान निर्माण गर्ने बिषय प्रमुखताका साथ उठाईएको थियो । यो योजना महाविनासकारी भुकम्प पछि पर्यटन क्षेत्रको पुनःउत्थान गर्न पोखरामा भएको घोषणा पत्रमा उल्लेख गरिएको थियो ।

कमेन्टहरु
Loading...