पोखरा १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुल निमार्णमा ढिलाई

पोखरा, ३० जेठ /पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुलमा फलामका सामान उपलब्ध नहुँदा पुल निर्माणकार्यले तिव्रता पाउन सकेको छैन ।

पोखरा महानगरपालिका तथा एस.डब्लु.ए.पि नेपालको सहयोगमा निर्माणाधिन उक्त ट्रस्ट पुलको उपभोक्ता समितिद्धारा गर्ने काम सकिएको अवस्थामा फलामको सामान उपलब्ध नहुँदा कार्यले निरन्तरता नपाएको हो ।

गत बैशाख १९ गते औपचारिक रुपमा कामको थालनी भएतापनि कामको शुरुवात भने २०७५ चैत २४ गतेबाट भएको थियो । ३२ मिटर लम्बाई रहेको फुस्रेखोला ट्रस्ट पुल निर्माणमा करिब २५ लाख १७ हजार २ सय ६७ को लगानी रहेको पुलको काम हाल भने ठप्प छ ।

खोलाको बहाब दिनप्रति दिन बढ्ने क्रममा रहेका कारण वडा नं २१ मा अवस्थित युवाज्योति प्रा.वि विद्यालयमा पढ्न जाने विद्यार्थीहरु स्कूल जानबाट बन्चित हुने अवस्था देखा परेको छ भने सोही क्षेत्र आसपास बसोबास गर्ने ३ सय ६३ घरधुरीका २ हजार १ सय ७१ कुल जनसंख्या रहेको फुर्सेखोला क्षेत्रमा खानेपानीको साथै आवतजावतमा समेत कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन् ।

पोखरा महानगरपालिका तथा जिल्ला समन्वय समितिको प्राविधिक शाखाबाट उपलब्ध गराईने फलाम आपुर्ती समयमा नहुँदा फलाम सम्बन्धि काममा ढिलाई भएको र निमार्ण कार्यलाई निरन्तरता दिन नसकिएको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर खड्काले बताउनुभयो ।

सो आयोजनाको निर्माण कार्यअवधि आगामी असार १४ सम्म रहेको छ । तर कामले निरन्तरता नपाउँदा आयोजना समयमा सम्पन्न हुनेमा शंका पैदा भएको छ भने उक्त स्थानका बासिन्दाहरु आवतजावतमा समस्या भएको छ ।

“ जेठ २६ गतेका दिन बिहान स्कुल जाने बेला एक विद्यार्र्थीलाई खोलाले बगाएकोमा उसलाई सकुशल उद्वार पनि गरियो तर यस्ता घटनाहरु दिनहुँ जसो नै हुने गरेका छन्, यो एक चिन्ताको बिषय रहेको छ ;” फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले भन्नु भयो ।

पुलको निर्माण सम्पन्न गर्ने समय नजिकिदै गर्दा सम्बन्धित जिल्ला समन्वय समितिको प्राविधिक शाखाले फलाम निर्माणमा केही ढिलाई हुने भन्दै केही दिनमा सामान उपलब्ध गराउने आश्वासन मात्र दिएको निर्माण समितिका सचिव देव बहादुर वि.कले बताउनुभयो ।

वडाले समन्वय मात्र गरेको हुँदा उपलब्ध हुने बजेट, उपकरण लगायतका सेवासुविधा महानगर र जिल्ला समन्वय समितिले गर्ने उहाँले जानकारी दिनुभयो । वडाबाट यस विषयप्रति सकरात्मक साथ पाएको भन्दै निर्माण कार्यलाई तिव्रता दिनका निम्ति सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको सचिव वि.कको भनाई छ ।

पोखरा महानगरपालिकाबाट प्राविधिक संस्थाको रुपमा नौलो घुम्ती नेपाल संस्थालाई छनोट गरिएको थियो । जुन संस्थाले पुलको निर्माण कार्यलाई परिक्षण गर्ने काम गर्दछ ।

कमेन्टहरु
Loading...