लेकसाइडमा आतिसबाजी (पटका) पड्काउन अदालतको रोक

पोखरा, १२ पुस /नयाँ बर्ष महोत्सवमा पोखराको लेकसाईडमा हुने आतिसबाजी यसबर्ष नहुने भएको छ । उच्च अदालत पोखराले नयाँ बर्षमा आतिसबाजी नगर्न रेवानलाई आदेश जारी गरेको छ ।

बुधबार भएको बहसपछि ध्वनी प्रदुषणका कारण धेरै जीवजन्तुलाई असर गरेको र वातावरणीय प्रभाव परेको भन्दै आतिसबाजी र पटका नपड्काउन आदेश दिएको हो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले उजुरी गरेका थिए ।

निवेदन उपर छलफल गरि न्यायधिश रामचन्द्र यादव र नरबहादुर शाहीको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो । पोखराको डिहिकोपाटन देखि खहरेचोक हुँदै कोमागाने पार्कसम्मको साढे ३ किलोमिटर क्षेत्रमा रेवाले बर्षेनी नयाँ बर्ष महोत्सव गर्दै आएको छ । धेरै पटक आतिसबाजी नगर्न प्रशासन र अन्य सरोकारवाला निकायमा ध्यानाकर्षण गरेपनि त्यसको सुनवाई भएको थिएन । कसैले पनि नटेरेपछि अदालत गुहार्नुपरेको निवेदक पौडेलले बताए ।

रेवानले पनि अदालतको आदेश स्विकार गर्ने बताएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले आतिसबाजीको कुरा उठाएपछि आँफुहरु अदालत भन्दा ठूलो नभएको भन्दै अदालतको निर्णय पालना गर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...