खहरेको समस्या समाधानका लागि केन्द्रीय बजेटको माग

पोखरा, १ साउन / खहरे टोल विकास संस्था, कास्कीले हालैको बाढी पहिरोले खहरेमा पारेको समस्याको दीर्घकालिन समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री एवम् काँग्रेस बरिष्ठ नेताको ध्यानाकर्षण गराउँदै त्यसका लागि केन्द्रीय बजेटको माग गरेको छ ।

संस्थाका तर्फबाट बाढी तथा पहिरो पीडित समितिका संयोजक गणेशराज पहारी नेतृत्वको टोलीले आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटेर खहरे क्षेत्रमा बाढी पहिरोले ठूलो क्षति भएको भन्दै दीर्घकालिन रुपमा पहिरो नियन्त्रण र वस्ती संरक्षणका लागि केन्द्रीय बजेटको व्यवस्था गरिदन माग गरेको हो ।

बाढी पहिरोका कारण खहरे क्षेत्रका पर्यटक स्तरीय होटल क्षति विक्षत भै बस्नै नहुने अवस्थामा पुगेका र दीर्घकालिन संरक्षण स्थानीय साधन स्रोतले गर्न नसकिने भएकोले केन्द्रीय बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गरिएको संयोजक पहारीले जानकारी दिनुभयो ।

सो टोलीमा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारी, नेपाल पर्यटन व्यवसायी संघ(निट) प्रदेश नं ४ का बरिष्ठ उपाध्यक्ष शिबराज अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् राससका पूर्व सञ्चालक सदस्य गंगाधर पराजुली, गुरुदत्त पहारी लगायत रहनुभएको छ । टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानकर्षण गराउँदै आवश्यक बजेको व्यवस्था गरिदिन माग गरेको थियो ।

कमेन्टहरु
Loading...