कास्कीमा उपनिर्वाचनको चर्चा, को को आकांक्षी नेकपा र कांग्रेसबाट

प्रदिप पौडेल
पोखरा, ३० साउन / कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएपछि दलहरुबीच उम्मेदवार को बनाउने भन्नेबारे चर्चा सुरु भएको छ । दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले कुन उम्मेदवार अघि सार्छ भन्नेबारे मतदाताबीच विश्लेषण सुरु भएको हो ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको हो । नेकपाबाट उम्मेदवारका लागि स्व.रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, बामदेव गौतम, सोमनाथ प्यासी, धनराज आचार्य, रश्मी आचार्य लगायतको नाम चर्चामा छ ।

रवीन्द्र धर्मपत्नी विद्याले चाहना राखेको खण्डमा उनलाई सर्वसम्मत् टिकट पाउने नेकपा भित्र चर्चा छ भने अन्यथा अन्यको सम्भावना जिवित छ । नेकपाको सचिवालय सदस्य वामदेव गौतमको पनि चर्चा कार्यकर्ताभित्र रहेको छ भने नेकपाका पुराना नेता सोमनाथ अधिकारी प्यासीको विद्या र वामदेव नउठेको खण्डमा उनको सम्भावना बलियो रहेको चर्चा छ ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले निर्वाचनको बारेमा चर्चा भए पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारे केन्द्रले केही सर्कुलेसन नगरेको बताए । उनले केन्द्रबाट उम्मेदवारबारे सर्कुलर भएपछि यहाँबाट सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस पठाउने बताए ।

उता, काँग्रेसतर्फबाट उम्मेदवारका लागि धेरैको नाम अगाडि आएको छ । जसमा रवीन्द्र अधिकारीसँगै चुनाव लडेका देवराज चालिसे, वीरेन्द्रनारायण बिजुक्छे, सोभियत अधिकारी, गुरु बराल, महादेव गुरुङ, धनराज गुरुङ, गुरु बराल, खेमराज पौडेल, रंगीला आचार्य, ऋषि काफ्ले लगायत आकांक्षी छन् । तीमध्ये चालिसेको सम्भावना बलियो छ । त्यसपछि सोभियतबहादुर अधिकारी, धनराज गुरुङ, वीरेन्द्रनारायण बिजुक्छेमध्ये एकले टिकट पाउने सम्भावना छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले उम्मेदवारका लागि धेरै साथीले आकांक्षा व्यक्त गरेकोमा केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने बताए । यसअघिको प्रदेशसभा निर्वाचनअन्तर्गत कास्की २ मा प्रदेश सभा (क) तर्फ नेपाली काँग्रेसका बिन्दुकुमार थापा र (ख) मा नेकपाका हाल जिल्ला अध्यक्ष समेत रहेको कृष्ण थापा निर्वाचित भएका थिए ।

नेकपा र काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने भए पनि कास्की २ को लागि अन्य दलहरुले पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफलमा रहेको बताएका छन् ।

कमेन्टहरु
Loading...