हिमाली साँस्कृतिक परिवारद्धारा स्वागत र बधाई कार्यक्रम

पोखरा, ६ चैत्र/नेपाली मौलिक लोक सँस्कृति संरक्षण अभियानसँगै क्रियाशील हिमाली साँस्कृतिक परिवार पोखराले पोखरामा हालै आउनु भएका सुरक्षा प्रमुखहरुको स्वागत र नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित दीपेन्द्र श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

पोखरा ९ पुरानो बसपार्कस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा हालै पोखरा आउनु भएका पश्चिमाञ्चल क्षेत्र प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) मधुप्रसाद पुडासैनी, सशस्त्रका डिआइजी सुबोध अधिकारी, अञ्चल प्रहरी प्रमुख(एसएसपी) विष्णु हरी गौतमलाई स्वागत र नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नवनिर्वाचित परिवारका सल्लाहकार दीपेन्द्र श्रेष्ठलाई परिवारका संरक्षण नरबहादुर शेरचन, अध्यक्ष मेनकाजी गुरुङसहित मानार्थ सदस्यहरु, सल्लाहकारहरु, पदाधिकारी, कार्यसमिति र कलाकारले खादा लगाएर स्वागत सम्मान र बधाई ज्ञापन गरेका हुन् ।

स्वागत पश्चात जनपथ प्रहरीका डिआइजी मधुप्रसाद पुडासैनीले स्वागत गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै नेपाली मौलिक लोक सँस्कृति संरक्षण अभियानमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले नेपाललाई विश्व सामु चिनाउन पहल गरेको बताउनुभयो । हिमालीको लोक साँस्कृतिक संग्रहालय स्थापना गर्ने योजनामा आफुहरु सहयोग गर्न तयार रहेको बताउनुहुदै हरेक गतिविधीमा सहकार्य गर्ने बताउनुभयो ।

सशक्त प्रहरी बलका डिआइजी सुवोध अधिकारीले हिमाली साँस्कृतिक परिवार आफ्नो पनि संस्था हो भन्नुहुदै प्रहरीमा साँस्कृतिक कार्यक्रम कै लागि जागिरमा रहेकाहरुले भन्दा स्वयंसेवी संस्था हिमालीका कलाकारहरुले उत्कृष्ठ साँस्कृतिक प्रस्तुती गर्दै आएकोमा बधाई ज्ञापन गर्नुभयो ।पश्चिमा सँस्कृतिले अतिक्रमण गरिरहेको अवस्थामा नेपाली मौलिक सँस्कृति संरक्षणका लागि क्रियाशील हिमालीसँग आफुहरु सधै सहकार्य गर्ने बताउनुभयो ।

बधाई ग्रहण पश्चात पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुदै सम्मानले आफुलाइृ थप जिम्मेवारी थपिएको महसुस गरिएको बताउनुभयो । नेपालको मौलिक लोक संस्कृतिको संरक्षक हिमाली साँस्कृतिक परिवारको लोक साँस्कृतिक संग्रहालय स्थापन गर्ने अभियानमा पत्रकार महासंघ साथ रहेको उहाँको भनाई थियो । राष्ट्रिय सँस्कृति संरक्षणले राष्ट्रकै गरिमा अभिवृद्धि गर्ने भएकाले सबैको साथ सहयोग हिमाली साँस्कृतिक परिवारलाई हुनुपर्दछ भन्नुहुदै पत्रकार महासंघ परिवारसँग सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले हिमाली साँस्कृतिक परिवार स्थापनाको उद्धेश्य र २० वर्षको उपलब्धिहरुको जानकारी गराउनुभएको थियो । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...