सरकारी विद्यालयमा आर्कषण बढ्दो

पोखरा, ८ बैशाख/ सरकारले घोषणा गरेको भर्ना अभियानसँगसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ ।

निजी शिक्षा महङ्गो हुदै गएको र सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएका कारण पनि सरकारी विद्यालयप्रति विद्यार्थीको आर्कषण बढेको हो ।निजी विद्यालयले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला कास्कीमा केही नाम चलेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप ह्वात्तै बढेको देखिन्छ ।

जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ख्याती कमाएको वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.विमा पनि भर्ना अभियानसँगसँगै विद्यार्थी भर्ना गर्न भ्याई नभ्याई छ । निश्चित सिटमा भर्ना खुलाए पनि तोकिएको भन्दा चौगुना बढि प्रवेश परीक्षामा सहभागी भएपछि, विद्यार्थीको चाप थेग्न धौ धौ परिरहेको विद्यालयले जनाएको छ ।

उत्कृष्ट भनिएका निजी विद्यालयवाट नै अधिकांश विद्यार्थी परीक्षामा सहभागी भएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।भर्नाका लागी त्यस विद्यालयमा केफ, प्रगति, पोखरा एकेडेमी, रिभरडेल, गोर्खा वोडिङ्ग, सूर्योदय लगायतका निजी विद्यालयवाट सहभागी भएपनि केही विद्यार्थीले त नाम पनि निकाल्न सकेनन् ।

अघिल्लो शैक्षिक सत्र भन्दा यसपाली विद्यार्थीको चाप अत्याधिक बढेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।अब्बल किसिमको शैक्षिक गुणस्तर र प्रविधीमैत्री वातावरणले गर्दा विद्यालयमा आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताउनुभयो ।

अभिभावक, स्थानियबासी र विद्यार्थीको चाहाना अनुरुप थप शैक्षिक गुणस्तर वृद्घि गर्न आफुहरु लागि परेको शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले बताउनुभयो । सवै पक्षको समन्वय भयो भने सरकारी विद्यालय पनि उत्कृष्ट हुन्छ भन्ने उदाहरण विद्यालयले दिएको स्थानियको भनाई छ ।

विद्यालयमा भर्ना अभियानसँगसँगै विपन्न परिवारका वालवालिकाको संरक्षकत्व लिने क्रम पनि वढेको छ। विद्यालय जाने उमेरका वालवालिका विद्यालय वाहिर नहुन भन्ने सरकारको योजनालाई समेत अभियानले सघाउ पु्याईरहेको छ ।त्यस क्षेत्रका अन्य सरकारी विद्यालयसँग समेत समन्वय गरेर अनुभव आदान प्रदान गरिरहेको विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...