तालबाराही मन्दिरको ७१ रोपनी जग्गा व्यक्तिले हडपे

पोखरा, १४ कार्तिक / पोखरा महानगरपालिका १८ सिम्पानी पाखाको जग्गा तालबराही गुठीकै भएको सर्वोच्च अदालतले फैसला गरेको छ । पुस्तौंदेखि उपभोग गर्दै दावी गर्ने पोखरा ६ बैदामका डिलबहादुर ढकाल, हरिबहादुर ढकाल, दलबहादुर ढकाल, धनुमाया ढकाल र जगतबहादुर लामिछानेले सर्वोच्चमा निबेदन दिएका थिए ।

सिम्पानी पाखोमा कित्ता नम्बर ४ सय १९ को करिब ७१ रोपनी जग्गा मन्दिरको नाममा रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । २०६८ सालमा मुद्दा परेपछि कुनै भौतिक निर्माणको काम हुन नसकेको बैदाम खहरेचोकमाथि सिम्पानी पाखोको जग्गामा आधुनिक वृद्धाश्रम लगायतका संरचना बनाउन बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त फैसलामा गुठी संस्थान सञ्चालक समितिको निर्णयबाट निवेदकको कुनै पनि कानुनी तथा संवैधानिक हकमा आघात नपरेको उल्लेख छ । सर्वोच्चले हकदैयाको अभावमा दायर भएको रिट निवेदन २०७४ पुस १४ गते खारेज गरेको हो ।

सुरु सुरुमा बिक्री गर्न नपाउने गरी जग्गा भोग गरेबापत् मन्दिरको छानाको लागि खर र भाटा दिने, वार्षिक पूजामा चढ्ने बलि सफा गर्न १ भारी दाउरा बुझाउने शर्त कायम गरिएको देखिन्छ । अहिले मन्दिर पक्की बनेको र बलि प्रथासमेत अन्त्य भएकोले ३ वटै सामग्री दिन नपर्ने भएकोले अब निवेदकको कुनै दायित्व नभएको स्थलगत प्रतिवेदनबाट देखिएको फैसलामा उल्लेख छ ।

कमेन्टहरु
Loading...