पोखरामा राष्ट्रिय विभूति तथा शहीद पार्क निमार्ण हुदै, पृथ्वीनारायण शाहको शालिक ठडियो

पोखरा, ३ भदौ/ १४ वर्षपछि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक ठडिएको छ । पोखरा महानगरपालिकाको सक्रियतामा पर्यटकीय सराङकोटस्थित जामुनबोटमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापित गरिएको हो । पोखराको व्यस्त चोक पृथ्वीचोकमा रहेको स्थापित पृथ्वीनारायण शाहको शालिक दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले तोडफोड गरी फ्याँकिदिएका थिए ।

पोखराको व्यस्त बजार क्षेत्रसँगै चोकहरुबाट शहिद र विभूतिको शालिकलाई महानगरपालिकाले एकै ठाँउमा स्थापित गर्ने निर्णय गरेको थियो । महानगरपालिकाको निर्णयसँगै पहिलो चरणमा पोखरा–१८ सराङकोटको जामुनबोटस्थित ५६ रोपनी क्षेत्रफलमा रहेको राष्ट्रिय विभूति तथा शहिद पार्कमा पृथ्वीनारायाण शाहसँगै अन्य दुईवटा शालिक स्थापना गरिएको छ ।

शहीद भीमसेन दाहाल र पुष्पलाल श्रेष्ठ अर्धकदको शालिक स्थापना गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । दाहाल दोस्रो जनआन्दोलनका प्रथम शहीद हुन् । उनको जनआन्दोलनको क्रममा २०६२ चैत २६ गते महेन्द्रपुल( हाल भीमसेन दाहालचोक)मा निधन भएको थियो । श्रेष्ठ नेपाल कम्यु्िनष्ट पार्टीका संस्थापक हुन् । ‘योगेन्द्रमान शेरचन र रविन्द्र अधिकारीको अर्धकदको शालिक तयार हुदैं छ ।’ उनले भने–‘शालिक तयार हुने वित्तिकै राख्ने छौं ।’

तत्कालिन पोखरा उपमहानगरपालिकाले सराङकोट गाविस हुदाँ ५६ रोपनी क्षेत्रफल छुट्टाई पार्क बनाउने निर्णय गरेको थियो । पार्कको भोगाधिकारको जिम्मा जनआन्दोलनका प्रथम शहिद भीमसेन दाहाल स्मृति प्रतिष्ठानलाई २०६७ सालमा दिइएको थियो । पछि महानगरपालिकाले आफनै लगानीमा सराङकोटमा विभूति तथा शहीद पार्क स्थापना गर्ने निधो गर्यो ।

स्वकीय सचिव तिमिल्सिनाका अनुसार पृथ्वीनारायण शाहको ६ फिट ३ इन्च अग्लो शालिक बनाउन दुईलाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । अर्धकदको एउटा शालिक निर्माण गर्न ५० हजार रुपैयाँ खर्च भएको उनको भनाई थियो ।

‘विभूति तथा शहीद पार्क व्यवस्थित गर्न महानगरपालिकाले यो वर्ष एक करोड रुपैयाँ बजेट छुट्टाएको छ ।’ उनले भने–‘त्यसबाट सेमीनार हल, बालउद्यान, पृथ्वीनारायण शाहको ब्लक र रविन्द्र अधिकारी ब्लक निर्माण गरिने छ ।’ पार्कसम्म पुग्ने बाटो कालोपत्रे गरिएको छ । पार्क उक्लिने सिढी निर्माण गरिएको छ । विभूति तथा शहीद पार्कभन्दा तल खुल्ला व्यायाम शालासहितको पार्क बनाईएको छ ।

‘४५ लाखको लागतमा ओपन जिमसहितको व्यवस्थित पार्क बनाईएको छ ।’ उनले भने–‘ शौचालय समेत छ ।’ जनआन्दोलन अघि पोखराको विभिन्न चोकहरुमा विभूति तथा शहीदको शालिक स्थापित थिए । काजीपोखरीचोक र शान्तिबन बाटिका भित्र तत्कालिन राजा स्व.विरेन्द्र शाहको शालिक थियो ।

पोखरामा राष्ट्रिय विभूति तथा शहीद पार्क निमार्ण हुदै, पृथ्वीनारायण शाहको शालिक ठडियो
पोखरामा राष्ट्रिय विभूति तथा शहीद पार्क निमार्ण हुदै, पृथ्वीनारायण शाहको शालिक ठडियो

तीन महिना अघिदेखि काम गरिएको थियो । त्यसभन्दा अघि उल्लेख्य प्रगति भने भएको थिएन् । जग्गा मात्रै छुट्टाएर राखिएको थियो । तीन महिनाको बीचमा एउटा पूर्ण र दुईवटा अर्धकदको शालिक राखिएको हो । पार्कमा १०८ वटा विभूति र शहीदको शालिक स्थापना गरिने योजनासहित काम भईरहेको उनले जानकारी दिए । ‘यो वर्ष १ करोडबाट पुर्वाधारका कामहरु गरिने छ ।’ उनले भने–‘बजार क्षेत्रका शालिक ल्याएर स्थापित गरिने छ ।’

पृथ्वीचोकमा अहिले शहीद लखन थापाको शालिक छ । पोखराको रत्नचोकमा मेयर हर्क गुरुङको अर्धकदको शालिक छ । पोखराको अमरसिंह चोकमा अमरसिंह थापाको अर्धकदको शालिक छ । विरौटाचोकमा गुरुङ समूदायको सँस्कृति झल्कने महिला तथा पुरुषको साँस्कृति भेषभुषायुक्त शालिक छ । सिम्पानीस्थित हरिचोकमा हरिप्रसाद गुरुङको शालिक छ ।

लेखनाथ क्षेत्रको अर्घौचोकमा कवि शिरोमणि लेखनाथ पौडेलको शालिक छ । ती सबै शालिकलाई महानगरपालिकाले सराङकोटस्थित राष्ट्रिय विभूति तथा शहीद पार्कमा व्यवस्थापन गर्ने जनाएको छ । पार्क निर्माणसँगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिने छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि पर्यटन प्रवद्र्धन केन्द्र बन्ने विश्वास महानगरपालिकाले लिएको छ ।

कमेन्टहरु
Loading...