शनिबार (आज) नेपाल आइडलका बुद्ध लामा सहितको कन्सर्ट पोखरामा

पोखरा, २८ असोज /पोखरामा हुन लागेको नेपाल आइडल कन्सर्टको सम्पूर्ण तयारी सकिएको छ । आयोजक मुन्टेज इन्टरनेशनल र जक्शन डटकमले पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

कार्यक्रमका लागि नेपाल आइडलका विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशी पोखरा आईसकेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कन्सर्टमा प्रस्तुती दिन पोखरा आईपुगेका नेपाल आइडलको टोली पनि सहभागी भएका थिए ।

नेपाल आइडलको ग्राण्ड फिनालेपछि राष्ट्रियस्तरमा कन्सर्ट हुन लागेको यो पहिलोपटक हो । ‘पोखराको कन्सर्टलाई लिएर हामी निकै आशाबादी छौँ । नेपाल आइडलप्रति यहाँको दर्शकमा देखिएको क्रेजले हामी अझै उत्साहित छौँ ।’ पत्रकार सम्मेलनमा बोल्दै आयोजक कम्पनी मुन्टेज इन्टरनेशनलका प्रबन्ध निर्देशक रोशन पराजुलीले भने–‘पोखरेलीको साथ हामीले अवश्य पाउनेछौँ ।’

नेपाल आइडलको विजेता बुद्ध लामा नै पोखराको भएकोले पोखरेली दर्शकको साथ अझै बढि पाउने आयोजकको विश्वास छ । ‘बुद्ध लामा यहाँकै हुन् । त्यसैले हामीलाई यहाँको दर्शकको साथ पाउनेमा अझ बढी विश्वस्त छौँ ।’ मुन्टेजका कार्यकारी निर्देशक दिलिप न्यौपानेले भने ।

व्यवस्थापकीय हिसाबले कन्सर्टलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको स्थानिय आयोजक जक्शन डटकमले जनाएको छ । ‘दर्शकको व्यवस्थापन, सुरक्षा र स्टेजका लागि हामीले निकै मेहेनत गरेका छा्रँै । र, दर्शकले त्यो कुराको अनुभूती कन्सर्टस्थलमा आएपछि गर्नेछन् ।’ जक्शन डटकमका व्यवस्थापक अरुण गिरीले भने ।

नेपाल आइडल भएपछि पहिलोपटक आफ्नो गृहनगरमा हुन लागेको कन्सर्टलाई लिएर विजेता बनेका बुद्ध लामा पनि निकै ‘एक्साइटेड’ देखिए । ‘मेरो रहर पुरा भएको छ । यहाँको दर्शकको अगाडि प्रस्तुती दिन म निकै आतुर छु ।’ नेपाल आइडल बुद्ध लामाले भने–‘सबै पोखरेलीलाई मैले धन्यबाद दिन पनि चाहन्छु । कृपया सबैजना नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा आउनुहोला ।’

नेपाल आइडल फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशीले पनि पोखराको कन्सर्टलाई लिएर निकै उत्साहित भएको प्रतिक्रिया दिए । ‘पोखरामा हामीले यति ठुलो कन्सर्टमा प्रस्तुती दिन पाउँदा निकै रोमान्चित बनेका छौँ ।’ उनीहरुले भने ।

दिउँसो ४ बजेदेखि शुरु हुने कन्सर्ट साँझ ८ बजेसम्म चल्ने आयोजक कम्पनीले जानकारी दिएको छ । मुन्टेज इन्टरनेशनलले पोखरासँगै यो कन्सर्ट उर्लाबारीमा समेत गर्ने जनाएको छ । असोज ३० गते उर्लाबारीमा नेपाल आइडल कन्सर्ट हुनेछ । त्यस्तै ‘नेपाल आइडल, वल्र्ड टुर’को क्रममा नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्दैछ ।

कमेन्टहरु
Loading...