कर लेखासम्बन्धी तीन दिने तालिम सकियो

पोखरा, १० चैत/नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुरु भएको कर तथा लेखा तालिम शनिबार सम्पन्न भएको छ । पोखरामा कर लेखा प्रणालीसम्बन्धी तालिमको समापनका अवसरमा कार्यक्रम नेउवा महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनैपनि कार्यालयमा कर तथा भ्याट सम्वन्धी जानकारी नहुँदा समस्या पैदा हुने गरेको बताए । उनले उद्योग प्रतिष्ठानमा करको ज्ञान र लेखा प्रणालीमा अज्ञानताले जरिवाना तिर्नुपरेको बताए ।

नेपाल सरकारको नीति परिवर्तन हुँदा देखिने समस्यालाई तालिम पछि चुस्त दुरुस्त राख्न मद्दत मिल्नेमा आफू आशावादी भएको बताए । प्रतिष्ठानमा मिसम्याच समस्या हलगरी समृद्ध पोखराको अभियानमा टेवा पुग्ने धारणा राख्दै कोइरालालले गणितमा कुनै समस्या आउनै नहुने बताए । ३ दिने तालिममा साना तथा मझौला करदातालाई करसम्बन्धी शिक्षा प्रदान गरिएको थियो । कर कानुनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन, कर फाराम भर्दा हुने त्रुटीमा कम, धेरैभन्दा धेरै व्यवसायीलाई करको दायरामा ल्याउन तालिमको उदेश्यमा टेवा पुग्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । तालिम समापन गर्दै अध्यक्ष पालिखेले परिवर्तित करका दर र दायराबारे जानकारी राख्न र लेखा प्रणालीलाई व्यवस्थित गर्न सहभागिलाई अनुरोध गरे ।

चार्टर्ड एकाउन्टेन्ट सचेतलाल श्रेष्ठ र सन्तोष पाण्डेले प्रशिक्षण दिँदै सचेत हुन सके करमा कुनै समस्या नहुने बताएका थिए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको सञ्चालनमा रहेको कार्यक्रममा सहभागिको तर्फबाट रामप्रसाद कँडेले नयाँ सोलुसन पत्ता लागेको बताए । उनले तालिम अझै आवश्यक भएको उल्लेख गर्दै क्षमता विकासमा टेवा पुगेको बताए । सहभागिलाई प्रमाणपत्र वितरण गर्दै चार्टर्ड एकाउन्टेन्ट सचेतलाल श्रेष्ठ, सन्तोष पाण्डे र सीता बराल र पोखरा उद्योग वाणिज्य संघका निर्देशक टोपबहादुर थापाले तालिम तालिम जस्तो नभै व्यवहारिक हुनुपर्नेमा जोड दिएका थिए । तालिममा विभिन्न प्रतिष्ठानका ३३ जना महिला पुरुषको सहभागिता थियो ।

कमेन्टहरु
Loading...