ब्यापार मेलाको चौथो दिनसम्म साडे ३ करोडको कारोवार

पोखरा, १२ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० को चौथो दिन शनिबारसम्म ३ करोड ५० लाखको कारोवार भएको छ । आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाका अनुसार २८ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । उनका अनुसार आइतबार झण्डै ७ हजार दर्शकले मेलाको अवलोकन गरे भने ७० लाखको कारोवार भयो ।

यता मेला अन्तर्गत भएको विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा कुमुदिनी होम्स उच्च मावि र फिस्टेल उच्च मावि अघिल्लो चरणमा प्रवेश गरेको साँस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले जानकारी दिए । विद्यालयस्तरीय सामूहिक नृत्यतर्फ ज्योतिकुञ्ज एकेडेमी, कुमुदिनी होम्स उच्च मावि सिद्धार्थ लभडेल बोडिर्ङ र फिस्टेल एकेडेमीबीच प्रतिष्पर्धा भएको थियो । यसैगरी अन्तर जिल्ला उद्योग बाणिज्य संघ लोक दोहोरी प्रतियोगितामा म्याग्दी उद्योग बाणिज्य संघ विजयी बन्यो । म्याग्दीले गुल्मीलाई हराएको हो ।

सोमबार सामूहिक नृत्यतर्फ रेन्बो एकेडेमी, सोसल पब्लिक स्कूल, साइनिङ स्टार बोर्डिङ र बालप्रभात माविबीच प्रतिष्पर्धा हुनेछ । यसैगरी सोमबार मेलामा लोकदोहोरीका कलाकारहरु रामजी खाँड, कृष्ण गुरुङ, तारापति सुवेदी, घनश्याम रिजाल ,लक्ष्मी सुवेदी, सरस्वती लामिछाने, प्रजापति पराजुली,जीवन दाहाल, शिवहरि ढुंगाना लगायतको उपस्थिति रहने छ । सोमबार बुटवल र हेटौँडा तथा बाग्लुङ र स्याङ्जा उद्योग बाणिज्य संघबीच दोहोरी गीत प्रतिष्पर्धा हुने भएको छ ।

पप आधुनिकतर्फ सोमबार शिव परियार, शान्ति गुरुङ, मनोज गुरुङ, विनित जोजिजुका साथमा आकर्षक मोर्डन डान्स समावेश गरिएको छ । यता संघले दैनिक प्रवेश टिकटमा राखेको सामसुङ मोवाइलको टचस्किन सेटको पुरस्कार मंसिर ११ गतेको ९८६२ नम्बरको टिकटलाई प्राप्त भएको संघको सचिवालयले जनाएको छ । सोमबार हास्य कलाकारहरु पल्पसा डंगोल( चम्सुरी ) र अन्सु थापा( हात्ती )ले दर्शकलाई मनोरञ्जन दिनेछन् । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजित मेलामा खाद्य, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा,अटो, पुष्प, लगातका २ सय ७० वटा स्टल रहेका छन् । मेला माघ २० गतेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...