फेवा महोत्सव उत्साहप्रद सहभागीता

पोखरा, २ बैशाख /फेवा तालको किनार कोमागाने पार्कमा आयोजित पाँच दिने १५ औं फेवा नव वर्ष महोत्सव २०७५ आइतबार सम्पन्न हुँदै छ । पर्यटन संस्कृति र खानालाई प्रवद्र्धन गर्ने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराले गत चैत २८ गतेदेखि यो महोत्सव आयोजना गरेको हो ।

फेवा तालको संरक्षण गरौं भन्ने नारा सहित आयोजित महोत्सवमा एक लाख पर्यटक भित्र्याउने उद्धेश्य राखिएकोमा शोचे अनुसार नै महोत्सव सफल भएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।

महोत्सवमा कूल ४० स्टल राखिएका थिए । देशविदेशका खानाको स्वाद समेत सो अवसरमा आगन्तुकले लिएका थिए । मौलिक नेपाली संस्कृतिको संरक्षण गर्ने र नेपाली नयाँ वर्षलाई समेत भव्य रुपमा मनाउने उद्धेश्य अनुरुप उद्घाटनको दिन विभिन्न झाँकी सहितको र्याली निकालिएको थियो । नयाँ वर्षलाई स्वागत गर्न चैत ३० गते राति हजारौं दर्शक र पर्यटक लेकसाइड र कोमागाने पार्क पुगेका थिए ।

नाचगान, कन्सर्ट, लोक नृत्य, रत्यौली गीत, दोहोरी गीत र बाल उद्यान जस्ता आकर्षण महोत्सवले समेटेको थियो । डुंगा दौड र पर्यटक दौड जस्ता कार्यक्रम समेत उत्साहप्रद रुपमा सम्पन्न भएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । विना औपचारिक कार्यक्रम महोत्सव आइतबार राति १० बजे सकिने तालिका तय गरिएको थियो ।

कमेन्टहरु
Loading...