कास्कीमा लकडाउनमा धमाधम बैकिङ कसुर मुद्दा, बाउन्स चेकमा पक्राउ

पोखरा, १ जेठ/ कास्की प्रहरीले लकडाउनमा बैकिङ कसुर मुद्दामा धमाधमा मुद्धा चलाएको छ । कास्की प्रहरीले पछिल्लो ४ महिनाको अवधिमा ४६ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरेको कास्की प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

गत माघदेखि वैशाखसम्म ४६ जनाविरुद्ध बैकिङ कसुरका मुद्दा दर्ता भएको उनले जानकारी दिए । प्रहरीले बैकिङ कसुरमा मुद्दा दर्ता भएका ४६ जनामध्ये ९ जना पक्राउ गरेको छ । त्यसमध्ये ३७ जना फरार रहेका छन् । बैंकिङ कसुरमा दर्ता भएका मुद्दामध्ये गत माघमा २३ जना, फागुनमा १३ जना, चैतमा ४ जना र वैशाखमा ६ जनाविरुद्ध छन् ।

आपसी लेनदेनका क्रममा चेक दिने र बैंकमा रहेको खातामा पैसा नभएपछि बैक मार्फत् सम्बन्धित व्यक्तिलाई जानकारी गराई चेक बाउन्स गराएर प्रहरीकोमा कारबाहीका लागि उजुरी गर्ने गरिएको छ । खातामा नगद नभईकन चेक दिनेहरूलाई कास्की प्रहरीले यस अगाडि पनि मुद्दा दर्ता गर्दै आइरहेको उनले बताए । बिहीबार अनलाइन मिडिया ब्रिफिङमा वैशाखमा मुद्दा दर्ता भएकाहरु कसैलाई पनि पक्राउ नगरिएको बताए ।

अहिले मुद्दा दर्ता भए पनि लकडाउनपछि मात्रै उनीहरूलाई पक्राउ गर्ने तयारी भएको कार्कीले बताए । उनले प्रहरीले उजुरी नलिँदा हदम्याद गुज्रिने भएकाले मुद्दा दर्ता गराएको बताए । ४ महिनामा ४६ वटा मुद्दा दर्ता हुँदा माघमा २ करोड ६१ लाख, १७ हजार ५ सय रुपैयाँ, फागुनमा १ करोड ७१ लाख २३ हजार रुपैयाँ, चैतमा ४० लाख ६१ हजार रुपैयाँ र वैशाखमा १ करोड ३० लाख ७० हजार रुपैयाँ सहित कुल ६ कारोड ३७ लाखका चेक बाउन्स भएको प्रमुख कार्कीले बताए ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०४६ को दफा ३ (ग) अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानी जानी चेक काटिदिनु हुँदैन भन्ने उल्लेख छ । कसैले त्यस्तो गरेमा दफा १५ (१) ले सो कसुरमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने कानूनी व्यवस्था रहेको छ ।

कमेन्टहरु
Loading...