तनहुँमा जीप दुर्घटना, ६ भारतीयको मृत्यु

१७ पुस, तनहुँ । तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा परी ६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पोखराबाट वीरगञ्ज जाँदै गरेको ग १ ञ ६६९ नम्बरको जीप गएराति बन्दीपुरस्थित चुन पहरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भारतको कोलकाता अन्तर्गत किरनचन्द हिरउड बस्ने ५८ बर्षका विनय तिवारी, सोही ठाउँकी ५६ वर्षकी कमलावती तिवारीको मृत्यु भएको छ । दुर्घटनामा परेर ३३ वर्षकी पुन त्रिपाठी, २० वर्षकी नेहा त्रिपाठी, ३७ वर्षकी निलम त्रिपाठी र १३ वर्षका हेमन्त त्रिपाठीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मिलन वाहेकका उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको हो । गम्भिर घाइते मिलनलाई थप उपचारका लागि काठमाडौं लैजादैं गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक ईन्चार्ज प्रहरी नायव निरिक्षक भेषराज रेग्मीले बताए ।

दुर्घटनामा स्याङ्जा पुतलीबजार २ का जिप चालक युवराज गुरुङ्ग घाईते भएका छन् । उनी सहित दुर्घटना घाईते हुनेहरुमा ८ वर्षीय आशि दुवे, ९ वर्षीय आरएन दुवे, ३४ वर्षीय सतेन्द्र दुवे र ४३ वर्षीय रविकान्त त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको बन्दिपुर १ डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भई रहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । पर्यटक बोकेर पृथ्वी राजमार्गमा गुडिरहेको जीप सडकबाट सयमिटर तल मस्याङ्दी नदीमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

कमेन्टहरु
Loading...