रिना थापा ।
लामो समयको बन्दाबन्दीपश्चात् पोखराका प्याराग्लाईडिङ कम्पनीले सस्तो दरमा उडान प्याकेज ल्याएसँगै आन्तरीक पर्यटकको आर्कषण ह्वात्तै बढ्यो । विशेषत स्थानीयहरुले यो वर्ष प्याराग्लाईडिङको मज्जा राम्रैसँग लिए । अधिकतम ३ हजार रुपैयाँसम्म प्याराको उडान मज्जा लिन सकिने भएपछि पोखरेली मात्रै होईन अन्य जिल्लाका पर्यटकको लर्को लागिरहेको छ । तर जब विस्तारै प्याराग्लाईडिङका लागि जाने मानिसहरुको चाप दैनिक बढ्न थाल्यो तब व्यवसायीहरु मूल्य पुरानै अवस्थामा फर्काउने तयारीमा लागेका छन् ।
कोरोना महामारी अगाडि प्याराग्लाईडिङको मूल्य नेपालीका लागि ७ हजार र विदेशिका लागि ८ हजार थियो । महामारीले थलिएको पर्यटन क्षेत्रलाई ब्युताँउने भन्दै व्यवसायीले यो मूल्य अधिकतम घटाउँदै ग्राहक तान्न सफल बनेका थिए । जसका कारण हाल सराङकोटबाट दैनिक ५ सय जनाभन्दा बढीले कावाखाँदै प्याराग्लाईडिङको मज्जा लिईरहेका छन् ।
नेपाल हवाई खेलकुद संस्थाका महासचिव बलराम आचार्यका अनुसार अहिले बाह्य जिल्लाका पर्यटक नै बढी संख्यामा पोखराको प्याराग्लाईडिङको आनन्द लिने छन् । उनका अनुसार प्याराग्लाईडिङ गर्ने कुल संख्यामध्ये ८० प्रतिशत बाह्य जिल्लाबाट छन् भने अन्य २० प्रतिशत पोखरा र पोखरा नजिकका रहेका छन् । आजकल काठमाडौं, बुटवल, चितवनबाट बढी पर्यटक आउने गरेको संस्थाले जनाएको छ । संघका महासचिवका अनुसार शुक्रबार र शनिबार पर्यटकको चाप धान्ने नसक्ने अवस्थामा रहेको छ ।
आचार्यका अनुसार पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिनमात्र नाफा नराखी उडान गरिएको हो । उनको भनाई पर्यटकका लागि सुखद र ठप्प बनेको पोखराको पर्यटन उद्योगका लागि आशातीत रहेपनि अब फेरी प्याराग्लाईडिङलाई छुटको मूल्यमा दिन नसकिने छ । जसले प्याराग्लाईडिङका लागि पोखरा जानुपर्छ भन्नेका लागि दाँतमा ढुङगा लागेजस्तै बनेको छ ।
‘अहिले कम्पनी सरभाईब गर्ने बाटोमात्र हो,नाफा भने छैन । अब विस्तारै पहिलेको मूल्यमा उडान गराउन सुरु गर्ने हो,’ आचार्यले बताए ।सरकारी अनुमति पाएसँगै गत असोज ५ गतेदेखि पोखरा व्यवसायीक उडान सुरु गरिएको थियो । कम्पनीले असोज ५ गतेदेखिका उडानमा ३ हजार रुपैयाँमा सजिलै बुकिङ लिने गर्थे । हाल सो मूल्यमा पाँच सय बढाईएको छ । यद्यपि संस्थाले भने अहिलेको छुट अफरले कम्पनीलाई केही नाफा नभएको बताउँदै आएका छन् ।
पोखरामा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दो छ । तर पर्यटकको चापले संक्रमणको झन खतरा भएपनि स्वास्थ्य सुरक्षा सर्तकताका लागि भने कम्पनी, पर्यटक र पाइलट भने संवेदनशिल देखिएका छैनन् । संस्थाले भने कम्पनीलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध र पत्राचार गरिरहेको जनाएको छ ।
पर्यटनको चाप बढेसँगै उडान संस्थाले कम्पनीलाई उडानका लागि समयतालिका प्रदान गरेको छ । साढे ९ , १० र ११ बजे गरि तिन समय विभाजन गरेको छ । यही तालिका अनुसार दिनमा ३ राउन्ड छुट्टाईएको छ । तर १ कम्पनीले २ राउन्डमात्र उडाउदै आएका छन् ।
पोखरामा हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३ सय ३८ प्यारापाइलट छन् जसमा १२ जना महिला छन् । त्यस्तै ६१ प्याराग्लाइडिङ कम्पनी मध्ये ११ कम्पनीले बन्दाबन्दीपछि उडान गराइरहेका छन् । कम्पनीले वार्षिकरुपमा पोखरा महानगरपालिकालाई २५ हजार, क्यानलाई भ्याट सहित ७५ हजार कर बुझाउदै आइरहेको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले कम्पनीबाट वार्षिक १ लाख करको माग गरेको छ । कम्पनी र हवाई उडान संस्थाले प्रदेशको मागमा आपत्ती जनाएका छन् ।