रातोढुंगा सवस्टेसन अलपत्र

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३/११ केभी क्षमताको रातोढुंगा सवस्टेसन अलपत्र परेको छ । मालिका गाउँपालिका–६ रातोढुंगामा २ वर्षअघि नै सम्पन्न हुनुपर्ने सवस्टेसनको आधा मात्रै काम सकिएको छ । एटुजेड इञ्जीनियरिङले करिब ८ करोडमा ठेक्का लिएको सवस्टेसनमा लकडाउन भएयता काम भएको छैन ।

लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुंगासम्म २२ किलोमिटर प्रसारण लाइन र सवस्टेसन बनिसक्नुपर्ने हो । सवस्टेसन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताए । ‘पोल गाड्ने र सवस्टेसनका २ मध्ये १ भवन बनिसकेको छ । उपकरण खरिद भइसकेको छ ।’ उनले भने, ‘लकडाउन नभएको भए रातोढुंगा सवस्टेसन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।’

सवस्टेसन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले ५ वर्षअघि रातोढुंगामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो । सवस्टेसन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मंगला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । मिलनचोक सवस्टेसनबाट ३ वटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । २० किलोमिटर दूरीसम्म एउटा सवस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड छ ।

८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताएका छन् । पूर्वजानकारीबिनै छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा घरायसी कामदेखि सार्वजनिक सेवा प्रवाह र उद्योग व्यवसायमा असर परेको छ । ‘दैनिक सयौंपटक विद्युत् आपूर्ति बन्द हुन्छ ।’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले भने, ‘विद्युतको समस्याले उद्योग व्यवसायदेखि घरायसी कामकाज प्रभावित भएको छ ।’

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरे पनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताको गुनासो छ । ‘कतिबेला बिजुली आउँछ, कतिबेला जान्छ ? अत्तोपत्तो हुँदैन ।’ बेनीका फर्निचर व्यवसायी कुवीर श्रेष्ठले भने, ‘बिजुलीको समस्याले समयमा काम नहुने र लागत बढेको छ ।’  विद्युतको व्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबी बेकरी उद्योगका सञ्चालक विपिन बानियाँले बताए । ग्रामीण क्षेत्रमा महिनौंसम्म विद्युत् आपूर्ति नहुने समस्या छ ।

लामो दूरीको वितरण लाइन, दरबन्दीअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत् आपूर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत पर्वतको मल्लाजसहित १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सवस्टेसनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोकदेखि रत्नेचौर, बेनी र घराप गरी तीनवटा ११ केभीको लाइन छन् ।

गाउँपालिकाको कार्यालय बन्द

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि १ हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत १ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताएका छन् । कात्तिक २५ गते १५ जनाको स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाइएकामा १ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए ।

होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट टे«सिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।

यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ । हालसम्म १ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय संक्रमित छन् । सबै संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेका छन् । रासस

कमेन्टहरु
Loading...