पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारभित्रका मुख्य सडकमा कालोपत्रे बिच्छाउने कार्य सुरु भएको छ । संघीय सरकारको सहरी विकास कार्यालयमार्फत् नगर क्षेत्रको बजार भित्रको झण्डै ३ किलोमिटर सडक खण्डमा कालोपत्रे बिच्छाउने कार्य सुरु भएको हो ।
नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताएका छन् । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोक लगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।
बजारक्षेत्रका मुख्य सडक ८ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे बिच्छाउने काम अघि बढेको छ । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताए । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगे सडक विस्तार गरीएको छ ।
पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम सुरु गरिएको नगरप्रमुख जोशीले बताए । ‘बजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकियो ।’ उनले भने, ‘अहिले दोस्रो चरणका काममा अघि बढाएका छौं ।’ शाखा सडकहरू यसअघि ५ मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि ८ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ । तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक ८ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ छ ।
सडकमा कालोपत्रे विच्छाउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडक भने यस पटक छुटेका छन् । सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सबै सडक यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताए ।
अहिले शिवालयचोकदेखि धनेश्वरचोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्रीचोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भइरहेको छ । बाँकी सडकहरुमा कालोपत्रे विच्छयाउने कार्यका लागि संघ र प्रदेश सरकारकासँग समन्वय भैरहेको समेत नगरप्रमुख जोशीले बताए । रासस