लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका—१ घनपोखरामा गण्डकी प्रदेश सरकारको सहयोगमा घरघरै धारा जडान भएको छ । घरघरमै खानेपानको सुविधा भएपछि त्यहाँका नागरिकले सहज महसुुस गरेका छन् ।
घनपोखरा र नायँुको गरी १ सय ३० घरमा खानेपानीको व्यवस्था भएको हो । स्थानीय पुनम गुरुङले घरकै धारामा पानी आएपछि धेरै सहज भएको बताइन् । ‘पहिले पानी लिनका लागि घण्टौं टाढा जानुपथ्र्यो । भनेको बेलामा सबैकाम गर्न सकिँदैनथ्यो’ उनले भनिन्, ‘अहिले त घरमैै धारामा पानी आएपछि खाना पकाउन, नुहाउन, कपडा धुन, बारीमा लगाउन सबै काममा धेरै सजिलो भएको छ ।’
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा घर घरमै धारा आएपछि दैनिकी फेरिएको स्थानीय बताउँछन् । गण्डकी प्रदेश सरकारले १ करोड ८ लाख २९ हजार ६ सय ४० सहयोग गरेको हो भने स्थानीयले २० लाख ७५ हजार ३ सय ७५ बराबरको श्रमदान गरेका हुन् ।
१ करोड ४९ लाख २४ हजार ६ सय ४९ लागत अनुमान गरिएकोमा १ करोड ३० लाख ९५ हजार ५५ खर्चमा योजना सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार घनपोखरा पर्यटकीय गाउँ रहेको र देशविदेशबाट पर्यटक आउने भएकाले घरैपिच्छे खानेपानीको सुविधा पुगेपछि होमस्टेका लागि पनि सहज बनाएकोे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खानेपानीको सुविधा नपुगेको ठाउँमा जतिसक्दो छिटो खानेपानी व्यवस्था गर्ने कार्यमा प्रदेश सरकार लागिपरेको बताए ।