म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि म्याग्दीका ३ वटा गाउँपालिका बन्द भएका छन् । मंगला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।
धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो । मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मंसिर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको जानकारी दिएका छन् ।
छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मंगलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो । मंगलाका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि १ हप्ताका लागि बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताएका छन् ।
दरवाङका १ सुरक्षाकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ । सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि १ हप्ताका लागि बन्द भएको छ । बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या भएको छ । सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लोपटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १ सय ८ जना पुगेको छ । सक्रिय संक्रमित ३५ जना छन् ।
करिब २ हजार स्वाबको नमूना परीक्षण गरिएको छ । गत हप्ता बेनीका एक वृद्धको कोरोना संक्रमणका कारण काठमाडौंमा उपचारको क्रममा ज्यान गएको थियो । यसैगरी असोज तेस्रो साता धौलागिरि गाउँपालिका–७ का १ वृद्धको पनि पोखरामा कोरोनाका कारण ज्यान गएको थियो ।
यसैगरी मालिका गाउँपालिकाले दरबाङमा कोरोना संक्रमितको उपचारका लागि ५ शैयाको कोरोना अस्पताल र १५ शैया क्षमताको प्रिआइसोलेसन कक्ष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिएकी छिन् । ‘जनप्रिय माविको आधारभूत तहको भवनका छ वटा कोठामा कोरोना अस्पताल र प्रिआइसोलेसन बनाएका हौं ।,’ उनले भनिन्, ‘त्यहाँ इन्टरनेट जोडेर वाइफाइको समेत व्यवस्था गरेका छौं ।’ लक्षण नभएका संक्रमितलाई प्रिआइसोलेसन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताएकी छिन् । रासस