बेनी । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएकामा मंगलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताएका छन् ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठले आफूसहित आफ्नो परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
म्याग्दी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूहरु कोरोना संक्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।
सोमबार संक्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब संकलन गरी पठाएकोमध्ये १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको बेनी नगरपालिका–७ का १ पुरुष, धवलागिरि गाउँपालिका–७ का १ पुरुष र रघुगंगा गाउँपालिका–२ घर भई काठमाडौं बसोबास गर्ने १ पुरुष गरी ३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । रासस