म्याग्दीको बाबियाचौरमा उद्यान निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको ५० लाख बढीको लगानीमा सो उद्यान निर्माण भएको हो । बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिएका छन् । गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा तीब्र रुपमा बजारीकरण भइरहेको छ । ‘बजारबासीलाई शान्त तथा रमणीय वातावरणमा रमाउनका लागि सजिलो होस् भनेर उद्यान बनाएका हौं ।’ अध्यक्ष रोकाले भने, ‘कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्न सक्छ ।’

बाबियाचौर बजारको म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई बिहानको हिँडाइ गर्न सजिलो भएको छ । सहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने व्यवस्था मिलाउन मंगला गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई योजना कार्यान्वयन ल्याएको हो ।

पार्क निर्माणका लागि बाबियाचौर घर भई हाल काठमाडौंमा बस्दै आएका इन्द्रबहादुर अधिकारीले ५ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका थिए । जग्गादाताको सम्मानका लागि उद्यानलाई ‘मंगला इन्द्रेणी पार्क’ नामाकरण गरिएको छ । उद्यान बनाउन पखो जग्गालाई सम्माएर पर्खाल लगाई खण्ड खण्डमा विभाजन गरिएको छ । विश्रामस्थलका लागि टहरा निर्माण भएको छ । उद्यानलाई रमणीय र आकर्षक बनाउन दुवो तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको पार्क निर्माण योजनामा गाउँपालिकाको ३४ लाख र डिभिजन वन कार्यालयको १८ लाख लगानी भइसकेको छ । घेराबार, बालबालिका खेल्ने ठाउँ लगायतका संरचना बनाउन चालू आर्थिक वर्षमा गाउँपालिकाले थप २८ लाख वजेट विनियोजन गरेको वडा सदस्य चक्रलाल पाण्डेले बताए ।

‘पार्क गाउँपालिकाको प्राथमिकताप्राप्त गौरबको आयोजना हो ।’ उनले भने, ‘बाबियाचौरमा आउने पाहुनाहरुलाई देखाउने ठाउँ पनि पार्क बनेको छ ।’ उद्यान परिसरमा सांस्कृतिक संग्रहालय समेत बनाएर पर्यटक आकर्षित गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्री संकलन गरेर संग्रहालयमा राखिने बताइएको छ । रासस

कमेन्टहरु
Loading...