पोखरा । यदि यो समय सहज हुन्थ्यो भने विभिन्न पुस्तक मेलादेखि, पुस्तक विमोचन कार्यक्रम हुन्थे । अहिलेको समय पुस्तक व्यापार हुने सिजन पनि हो । तर कोरोनाको कहरले पुस्तक मेला देखि सम्पूर्ण कार्यक्रमलाई स्थगित गराइदिएको छ । यद्यपी बजारमा लकडाउनको समयदेखि नै नयाँ पुस्तक भने आउन छाडेका छैनन् । नेपाली लेखकका पुस्तक सहित अङ्ग्रेजी पुस्तक र अनुवादित पुस्तक बजारमा निरन्तर आइरहे ।
लकडाउनले आर्थिक क्षेत्र चलायमान हुन नपाउँदा आर्थिक कारोबारमा मन्दि आएको छ । यसको प्रत्यक्ष असर पुस्तक प्रकाशनमा देखिन्छ कि भन्ने आशंङ्कालाई बजारमा एकपछि अर्को गरी आइरहेका पुस्तकले चिरीरहेका छन् । बजारमा यात्रा संस्मरण देखि इतिहास, विभिन्न उपन्यासहरु सहित विभिन्न भाषामा लेखिएका पुस्तकका अनुवादित संस्करणको बजार बढेको छ ।
यसले गर्दा पुस्तक बजारमा पछिल्लो क्रम अनुवादित पुस्तकको बजारले राम्रै स्थान पाईरहेको हो । भर्खरै बजारमा आएको मुसा मानुष देखि , युगान्त, वैशालीकी नगर बधुलगायतले पुस्तक बजारमा राम्रो स्थान जमाइरहेको छ ।
पोखरा हिमालय रिडर्स कर्नरका संचालक विजय भण्डारीले अहिलेको समयमा अधिकांश अनुवादित पुस्तक बिक्री भएको बताउँछन् ।
‘अहिले बजारमा अधिकांश पाठकले विभिन्न पुस्तकका अनुवाद पढ्न रुचाउनु भएको छ । यसले पाठकले फरक स्वादको पुस्तक पनि पढ्न चाहनु भएको रहेछ भन्ने बुझियो ।’ उनले भने । अहिले पुस्तक बजारमा गैर आख्यान मध्ये सिंहदरबारको घुम्ने मेच र सम्बन्धहरु बढी रुचाइएको छ ।
हालसम्म गुमनाम बनेको ‘महारानी’ले मदन पुरस्कार विजेता बनेपछि सर्वाधिक बिक्री भइरहेका पुस्तकमा गनिएको छ । ‘पुरस्कार विजेता महारानी कस्तो छ ? पाठक इच्छुक भएर लिनुभएको छ ।’ उनले भने ‘ पुस्तकमा पुरानो भाषा शैली र गण्डक क्षेत्र र इतिहासलाई समेटेर लेखिएको भएर पढ्न उल्लेखनिय छ ।’
त्यस्तै बजारमा मोक्षभूमि, बनको वैभव , न्यायपालिकामा चार दशक , परित्यक्ता , डुमेरोले पनि राम्रै स्थान पाएका छन् । यद्यपी बजारमा पुस्तक प्रकाशन भइरहेपनि पुस्तक खरिद भने पोहोरको वर्ष भन्दा यसवर्ष निकै कम भएको छ । भण्डारीका अनुसार लकडाउनका कारणपनि पुस्तक खरिदमा प्रभाव परेको छ ।
तरपनि दशैँको अवसरमा कर्नरले पुस्तक खरिदमा केही सहुलियत प्रदान गरिरहेको छ । पछिल्लो समय अनलाइन मार्फत पनि पुस्तक खरिद गर्ने बढेसँगै पाठकको सुविधाको लागि कर्नरले पोखरा भ्यालीमा केन्द्रीत रहेर होम डेलिभरीको समेत सुविधा उपलब्ध गराएको छ ।
तर यतिबेला अनलाइन मार्फत भन्दा पुस्तकालय आएर पुस्तक खरिद गर्ने बढी छन् । त्यस्तै अधिकांश पाठकहरुले अहिलेको समयमा पुस्तक खरिद भन्दा साटासाट गरेर पढिरहेका छन् ।