व्यास नगरपालिकाको आन्तरिक आम्दानी ४ करोड

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ३ महिनाको अवधिमा ४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ ३ करोड १६ लाख ८६ हजार र जग्गा रजिस्ट्रेसन दस्तुरबापत ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा ६ करोड कम राजश्व संकलन भएको थियो ।

गत आर्थिक वर्षमा १६ करोड ६ लाख ९६ हजार राजश्व संकलनको लक्ष्य थियो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि १६ करोडको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट ९ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्यांकन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट १ करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट २ करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट २ लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फारम तथा अन्यबाट २ करोड २७ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ ।

२ सय १९ घरमा जस्तापाता राखिने

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् नगरपालिकाका २ सय १९ घरमा खरको छाना हटाइने भएको छ । खरको छानो हटाएर जस्तापाताको छानो छाउन नगरपालिकालाई बजेट प्राप्त भएको छ । उक्त कार्यका लागि लाभग्राही छनोट गर्ने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिएका छन् ।

व्यास नगरपालिका ५ र ६ का ९५, व्यास नगरपालिका १ देखि ४ तथा ७ देखि १४ सम्मका वडाका २ सय १९ कच्ची घरमा छाना छाउनका लागि प्रति घर ५० हजारका दरले रकम प्राप्त भएको छ । ‘खरको छानो भएका लाभग्राही छनोटका लागि १० दिनको म्याद राखेर सूचना प्रकाशित गर्ने तयारी गरेका छौं । उनले भने । रासस

कमेन्टहरु
Loading...