बाग्लुङ । खेतबारीको बालीमा बाँदरको रजाईंले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ ।
‘एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन् ।’ वडा नं. २ का किसान कान्तलाल जैसीले भने, ‘मेसिनका कारण सजिलो भएको छ ।’ बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उनको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको सहयोगमा बाँदर नियन्त्रण गर्न सकिएकाले खेतबारीको बाली जागाउन सकिएको जैसीले बताएका छन् ।
‘मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्यो ।’ जैसीले भने, ‘अहिले १ पटक धपाए पछि केही दिनका लागि ढुक्क भइन्छ ।’ बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई उपलब्ध गराएको हो । मेसिन प्रयोग गर्न थालेपछि बाँदर कहिलेकाँही घुमिफिरी आउने गरेको वडा नं ६ बिहुँका बालानन्द कँडेल बताउँछन् ।
गाउँपालिकाले ४० थान बाँदर धपाउने मेसिन ८ ओटै वडाका किसानलाई उपलब्ध गराएको छ । प्रत्येक वडामा पाँच पाँच वटाका दरले मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । सुरुआतमा स्याङ्जामा मेसिन बनेको र प्रभावकारी रहेको खबर पाएपछि यहाँका किसानको आग्रहमा गाउँपालिकाले प्रतिथान ३ हजारका दरले मेसिन किनेको थियो ।
अहिले बाग्लुङमै मेसिन बनाउन थालिएको थापाले बताएका छन् । २ हजार १ सयमा बाग्लुङमै मेसिन निर्माण गरिन्छ । रासस