मनिष र रेश्मा बने डाक्टर, गीतमा कोरोना संक्रमणपछि डाक्टरको अवस्था (भिडियो)

काठमाडौं । कोरोना महामारीबीच फ्रन्टलाईनमा रहेर बिरामीको सेवा गर्ने २ डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ । दसैंको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ ।

भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको जीवन्त अभिनय छ । गीतको भिडियोले फ्रन्टलाइनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आफै संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाएको छ । भिडियोमा बिहेपछि पहिलो पटक दसैं मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्य कारुणिक रहेका छन् ।

भिडियोको निर्देशन चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका छन् । सन्तोष भन्छन्, ‘म्यूजिकल लभ स्टोरीमा २ डाक्टरको लभलाइफलाई देखाउन खोजेको छु । यो गीत कोरोना महामारी बीचमा फ्रन्टलाइनमा रहेर काम गर्ने सबैलाई सम्मान स्वरुप समर्पण गरेका हौं । गीतमा नागरिकको सेवा गर्दै गर्दा कोभिड १९ को संक्रमण भएपश्चातको कथा देख्न सकिन्छ ।’

बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुव्र्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाड पर्वको समयमा कोभिड १९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यहिँमाथि कोरोना संक्रमणपछि समाजले छिछि दुर दुर गर्ने, हेला भावले हेर्ने गरेको पाईयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाईनमा बसेर बिरामीको उपचार गरिरहनु भएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौं ।’

अभिनेता मनिष राउतले फ्रन्टलाइनमा काम गर्नेहरुको ‘डेडिकेसन’लाई सांगीतिक रुपमा देखाउन खोजेको बताए । ‘आँशुसेन फिल्मससँग म एकदमै नजिक छु, जसको कारण पनि म यो भिडियोमा जोडिने अवसर पाएको हुँ । आत्मैबाट राम्रो बनाउने कोशिस गरेका छौं । यो भिडियोले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेसन’लाई सम्मान गर्छ ।’

आँशुसेन फिल्मसको प्रस्तुतीमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको छ भने भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिंग रहेको छ ।

कमेन्टहरु
Loading...