बाग्लुङ । बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् ।
बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकअन्तर्गत ६ सय ५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्र गर्ने कार्यले तीव्र गति पाएको छ । यसैगरी बलेवा पुग्ने सडकमा समेत कालोपत्रको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्र गति पाएको छ ।
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकखण्डको कालोपत्रका लागि रु एक करोड विनियोजित भएको थियो । बिएनए निर्माण सेवाले निर्माण जिम्मा लिएको कालोपत्रको काम अहिले अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिएका छन् ।
‘दसैंसम्म कालोपत्र सक्ने योजना छ, कोरोनाका कारण रोकिएको कालोपत्र गर्ने काम अहिले मात्रै सुरु गरिएको छ ।’ उनले भने, ‘बागलुङ बजारमा खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्र गर्नेलगायत धेरै स्थानमा एकसाथ कालोपत्रको कार्य पनि चलिरहेको छ ।’
यस्तै, बागलुङ नगरपालिका–१३ पैंयुपाटास्थित जलकिनी घुम्टीदेखि भैरव स्थान जाने सडकको समेत कालोपत्रका लागि पूर्वाधार निर्माण थालिएको छ । यस वर्ष ३ हजार १ सय ६० मिटर कालोपत्र गरिनेछ । यस सडकको कालोपत्रपश्चात् बागलुङको प्रसिद्ध धार्मिकस्थल भैरवस्थान जान सहज हुनेछ । उक्त सडक ६ करोड ९ लाखमा ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको छ । सोसडकसमेत स्थानीय पूर्वाधार साझेदारीअन्तर्गत पर्छ । जसमा संघीय सरकारबाट ६० र स्थानीय सरकारले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने सर्त छ ।
यसैगरी बलेवा पुग्ने सडक मध्येको गलुवादेखि जलकिनी घुम्टी नजिकै सम्मको सडकसमेत कालोपत्र गर्न थालिएको नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकामभित्र रहेका खाल्टाखुल्टी तथा छोटा सडक कालोपत्र गर्ने कार्यले समेत तीव्रता पाएको छ । बागलुङ बजारको अस्पताल रोड, धौलागिरी चोक, श्रीनर टोललगायत १ दर्जन स्थानमा कालोपत्र भइरहेको छ ।
बागलुङ नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजनाअनुरुप कालोपत्र गर्ने कार्यलाई अघि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् । ‘हामी आएपछि केही सडकलाई कालोपत्र गर्ने कार्य चलिरहेको छ, केही सडक कालोपत्र भइसकेका छन् ।’ उनले भने, ‘नगरका १४ वटै वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुग्ने गरी सुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।’ गत वर्ष वडा नं ६ देखि ७ पुग्ने १ हजार ८ सय मिटर सडक कालोपत्र गरिएको थियो भने बागलुङ बजारका छोटा सडकको झण्डै ३ सय मिटर सडक कालोपत्र गरिएको हो । रासस