घलेगाउँ घरवास खुले पनि पर्यटक आएनन्

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरवास गत भदौ १ गतेबाट खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा यहाँ घरवास सुनसान भएको छ ।

विगतका वर्षका यस मौसममा दैनिक ४ सयको हाराहारीमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका २/४ जना पर्यटक मात्र आउने गरेका ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए ।

कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरवास सञ्चालक बढी मर्कामा पर्न थालेको घरवास सञ्चालक दीर्घराज घलेले बताए ।

घलेगाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), माछापुच्छ«े हिमाल, मनास्लु हिमाल, हिमालचुली हिमाल, ङादीचुली (डा हर्क हिमाल) र बुद्व हिमाल देख्न सकिन्छ । नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, घले राजाको पार्क, गुरुङ संग्रहालय हेर्न सकिन्छ ।

जिल्लाको सदरमुकाम बेंसीसहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब ३ घण्टा र पैदलयात्रा गरेमा करिब ५ घण्टा समय लाग्छ । त्यस्तै बेंसीसहर नगरपालिका–३ काउलेपानीमा रहेको घरवास (होमस्टे) भने दसैंपछि सञ्चालनमा आउने भएको छ । कोभिड–१९ को जोखिम कायम रहेकाले तत्काल घरवास सञ्चालन गर्न नसकिएको काउँलेपानी पर्यटन व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले बताएका छन् । रासस

कमेन्टहरु
Loading...