काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा १२६ रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।
उसका लागि जोस बट्लरले ४८ नटआउट ७० रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । यस्तै स्टीभ स्मीथले ३४ बलमा नटआउट २६ तथा बेन स्टोकले ११ बलमा १९ रन बनाए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १२५ रन बनायो । उसका लागि रवीन्द्र जडेजाले ३० बलमा चार चौकाको सहयोगमा ३५ रन बनाए। यस्तै कप्तान धोनीले २८ बलमा २८ तथा साम करेनले २५ बलमा २२ बनाए ।
जारी आईपीएलमा यो राजस्थानको चौथो जित र चेन्नाईको सातौं हार हो । जितसँगै राजस्थानको टोली अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई अन्तिम स्थानमा छ ।