पर्यटन प्रवर्द्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषदको समन्वयमा बिहिबार पोखरामा भएको ‘नविनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’लाई सम्बोधन गदै मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेल लगायत ग्रामिण पर्यटनको लागि डराउन नपर्ने बताउनुभयो ।

कोभिड –१९ को असरले गण्डकी प्रदेशमा २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उहाँले अब पर्यटनलाई चलायमान गर्नुपर्ने बताउनुभयो । तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेज मार्फत यस क्षेत्रमा टिकाउन चुनौति रहेको उल्लेख गर्दै उहाँले एक अर्ब राहत प्याकेज मङ्सिर भित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सस्कृति, प्रकृति र साहसिक पर्यटनको लागि आर्कषक गन्तब्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राख्नुभयो । सांसद खगराज अधिकारीले सुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो । अर्का सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ कोर्स सृजना गरेर जानुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनको विकासमा कार्ययोजना सहित अघि बढेको बताउनुभयो ।

सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा. रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा, पर्यटनका अध्येता एवंम कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभाव साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नविनतम सम्भावनाको खोजीको बारेमा प्रस्तुति राख्नु भएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी संघसंस्थाहरु बीच समूहगत छलफल गरी पर्यटनका सवल पक्ष सहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रीत कार्यक्रम गर्ने भन्ने सामुहिक निष्कर्ष निकालिएको थियो ।

कमेन्टहरु
Loading...