स्याङ्जा । चापाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मंगलबार एकै दिन १४ जनामा संक्रमण देखिएपछि नगरपालिकाले कोरोना संक्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् । नगरप्रमुख गिरीले कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै संक्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहन आग्रह गरेका छन् । खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब संकलन गरिएकामा १४ जनामा संक्रमण देखिएपछि अन्यको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । संक्रमण देखिएका १० जना पुरुष र ४ जना महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिएका छन् ।
कोरोना संक्रमण देखिनेमा केही दिन पहिले चापाकोटमा बिएम फाउण्डेसन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेसन फाउण्डेसनद्वारा सञ्चालित १ दिने निःशुल्क आँखा शिविरमा सहभागी भएकाहरु छन् । शिविरमा सहभागी चिकित्सक र आयोजक समेतमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि आइसोलेसनमा उपचार गराइरहेका बेला अन्य स्थानीयवासीमा समेत कोरोना देखिएपछि चापाकोट नगरपालिकामा कोरोना संक्रमण थप फैन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ ।
यता वालिङ बजारमा समेत व्यापारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले सतर्कता अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गर्न आग्रह गरेको छ । रासस