तनहुँको मानहुँडाँडामा ‘दृश्यावलोकन स्थल’ निर्माण सुरु

तनहुँ । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको ब्यास नगरपालिका–५ मानहुँकोटमा दृश्यावलोकन स्थल निर्माण सुरु गरिएको छ । मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्न र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न डाँडामा दृश्यावलोकन स्थल निर्माण सुरु गरिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित हुँदै गइरहेको मानहुँकोटको पर्यटनलाई थप टेवा पु¥याउन दृश्यावलोकन स्थलको काम सुरु भएको ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । ४० लाखको लागत अनुमान गरिए पनि ३६ लाख ५० हजारमा दृश्यावलोकन स्थल निर्माणको ठेक्का लागेको छ ।

दृश्यावलोकन स्थल निर्माणको जिम्मा माता बाराही कन्स्ट्रक्सन प्रालिले पाएको छ । दृश्यावलोकन स्थल २ तलाको हुनेछ । पहिलो तल्लामा कफी सप र दृश्यावलोकनका लागि माथिल्लो तल्लामा सिसाको घर बनाउने लक्ष्यसहित काम सुरु गरिएको छ । ‘अहिलेकै बजेटले पूरा हुने गरी काम सुरु भएको छ, करिब ६ महिनाभित्र दृश्यावलोकन स्थल निर्माण सम्पन्न हुन्छ ।’ वडाध्यक्ष श्रेष्ठले भने, ‘केही समय अगाडि नै निर्माण सुरु गर्ने तयारी गरिए पनि कोभिडका कारण काममा ढिलाइ भएको हो ।’

पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको यस ठाउँको प्रचारका लागि दृश्यावलोकन स्थलले पनि सहयोग पुग्ने श्रेष्ठको विश्वास छ । मानहुँकोटको विकासका लागि थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । ‘कोरोनाको कारणले काम गर्न केही असहज भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास निर्माणका काम सुरु भएको छ ।’ श्रेष्ठले भने ।

कोभिड–१९ को प्रकोपले सुनसान रहेको यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेको छ । कोभिडको प्रकोप अगाडि मानहुँकोटमा दैनिक ३÷४ सय पर्यटक पुग्थे । शनिबार उक्त संख्या अझ दोब्बर हुन्छ ।

यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै ब्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । मानहुँकोट पुग्नका लागि संघीय सरकारको करिब ७ करोडमा सडक कालोपत्रको जिम्मा रानीबारी कन्स्ट्रक्सन काठमाडौंले पाएको छ । रासस

कमेन्टहरु
Loading...