काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा बैंगलोरले चेन्नई सुपर किङ्सलाई हराएको छ । विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंगलोरले महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किङ्सलाई ३७ रनले हराएको हो ।
जितका लागि बैंग्लोरले चेन्नाईसामु १७० रनको लक्ष्य पेश गरेको थियो । चेन्नई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३२ रनमात्र जोड्न सक्यो। चेन्नईका अम्बाती रायुडुले ४२, नारायण जगदिशनले ३३, सेन वाट्सनले १४ र धोनीले १० रन जोडे।
फाप डु प्लेसिसले ८ रन जोडे भने साम कुरानले खाता खोल्न सकेनन्। रविन्द्र जडेजाले ७ रन बनाएर आउट भए। बैंगलोरका क्रिस मोरिसले ३, वासिङ्टन सुन्दरले २ र युभेन्द्र चाहलले एक विकेट लिए।
चार ओभरमा मोरिसले १९ र सुन्दरले तीन ओभरमा १६ रन दिए। नवदिप सैनीले विकेट नलिएपनि चार ओभरमा १८ रनमात्र खर्चिए। त्यसअघि पहिला ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो।
बैंगलोरको पालीमा कप्तान कोहली एक्लैले ९० रन बनाए। देवदुत पडिक्कलले पनि ३३ रन जोडे। कोहलीले ५२ बलमा चार छक्का र चार चौका प्रहार गरे। बैंगलोरले अन्तिम पाँच ओभरमा ६६ रन जोडेको थियो। बैंगलोरको ६ खेलबाट ८ अंक भएको छ। चेन्नईको ७ खेलबाट ४ अंक मात्र छ।